काठमाडौं,जेठ ३ । कोरोना भाइरस उच्च रक्तचापका विरामीका लागि खतरनाक सावित भएको छ । उच्च रक्तचाप आफैमा घातक रोग हो, यसका बिरामीलाई कोरोना लाग्दा झन् उनिहरुमा मुटु , किड्नी र मस्तीस्क सम्बन्धी समस्या बढाएको देखिएको छ ।
उच्च रक्तचाप काममा तनाव, एन्जाइटी, सन्तुलीत भोजनको अभावसँगै वंसाणुगतका कारण हुन सक्छ । कोरोना संक्रमणका कारण उच्च रक्तचापका विरामीमा हृदयघात हुने संभावना प्रवल देखिएको छ । अझ कोरोना भााइसबाट संक्रमणमुक्त भएका उच्च रक्तचापका बिरामीहरु पनि हृदयघातको सिकार भएकाले विशेषज्ञले सजक रहन सुझाएका छन् ।
संक्रमणमुक्त भएर पनि उच्च रक्तचापका विरामीमा हृदयघात देखिनुमा संक्रमणपछि मुटुका मांसपेसी कमजोर भएकाले हुन सक्ने डाक्टरहरुको आकलन छ ।
उच्च रक्तचापका कारण विरामीको ज्यान जान सक्ने भएकाले बिशेषगरि ५ देखि १० दिनसम्म संक्रमित विरामीले प्रेसरलाई नियन्त्रणमा राख्न उनिहरुको सुझाव छ ।
उच्च रक्तचापका विरामीले निम्न कुरामा ध्यान दिन जरुरी देखिएको छ ।
१ खानपान
उच्च रक्तचापका विरामीले सन्तुलीत भोजन गर्नु अति आवश्यक छ । धुम्रपान ,मदिरापान तथा अधिक रातो मासुु सेवन गर्नु हानीकारक मानिन्छ । यस्ता बिरामीले पोटासियमयुक्त खाना जस्तैः केरा ,पालुङ्गोको साग ,ब्रोकाउली जस्ता खानेकुरा खानुपर्दछ ।
२. सोडियम
उच्च रक्तचापका विरामीले नुन कम खानुपर्दछ । जंकफुड र प्याकिङ खानेकुरा खादा सोडियमको मात्रा शरीरमा बढ्छ । सोडिएमको बढ्दो प्रयोगले उच्च रक्तचाप हुने हुँदा नुन ,प्याकिङ जुुस र तयारी खानामा नियन्त्रित हुनुपर्छ ।
३. निद्रा
मानिसमा अनिद्राको असरले उसको स्वास्थ्यमा सिधा असर गर्छ । उच्च रक्तचाप नियन्त्रणका लागि कम्तीमा ६ घण्टा गहीरो निद्राका साथमा सुत्नु आवश्यक छ ।
४ नियमित स्वास्थ्य जाँच
यदि उच्च रक्तचाप परिवारको अग्रज सदस्यलाई भएको छ भने अन्य सदस्यले ‘जेनेटिक टेस्ट ’ गराउनु जरुरी छ । प्रेशरले शरिरका अङ्गहरु जस्तैः आँखा ,किड्नी र मुटुमा असर पार्ने हुँदा नियमित स्वास्थ्य जाँचले आफ्नो शरीरको अवस्था बारेमा जानकारी पाइन्छ र जसर्ले सजगता अपनाउन सहयोग गर्छ ।
५.औषधि सेवन
महामारीको बेला औषधीको अभाव तथा आपुर्ती गर्न कठिनाई पर्नेहुँदा औषधिको जोहो बेलैमा गर्नुपर्दछ । डाक्टरले सिफारिस गरेको औषधि र मात्रामा विशेष ध्यान दिनु पर्छ । डाक्टरको नियमित सम्पर्कमा रहनुपर्दछ ताकि यस्ता महामारीको बेलामा सजग रहनुपर्ने विषयमा नयाँ नयाँ जानकारी पनि पाउन सकियोस ।
६. स्टराइडको प्रयोगमा सजकता
कोरोना विरामीलाई स्टाराइड लगाएत अन्य औषधिको ब्यापक प्रयोग गरिएको छ । छिटो सञ्चो गराउन स्टराइडको बढ्दो प्रयोगले उच्च रक्तचापका विरामीको ज्यान लिइरहेको हुँदा विरामी तथा अविभावकले सजगता अपनाउनु जरुरी छ । डाक्टरको सल्लाह बिना उच्च रक्तचापका विरामीले कुनै पनि प्रकारका आयुर्वेदिक तथा एलोपेथिक औषधि सेवन गर्नु हुँदैन ।