काठमाडौं, वैशाख २। विवाहको मुख्य सिजनमै बजारमा काँचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी वस्तु आयातको बैंक ग्यारेण्टी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन उच्च स्रोतले बताएका छन् ।
सुन आयात नभएको ११ दिन भयो, गत शुक्रबारसम्म १६ किलो मौज्दात थियो ।’ स्रोतले भन्यो ‘आज शुक्रबारसम्म लगभग रित्तियो ।’ चैत २१ अघिसम्म काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ५ किलो वितरण गर्ने गरी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे ।
बैंकर्स एसोसिएसनकाअनुसार २२ वटा वाणिज्य बैंकले दैनिक पालो-पालो कोटाको सुन आयात गर्ने गरेका थिए । बजारमा नयाँ गहना बनाउने सुन अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले पुष्टि गरेको छ ।
बैंकहरुलाई सुन लगायतका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशनपछि सुनको आयात ठप्प भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । बजारमा अहिले नयाँ सुन छैन, गहना बनाएका रेडिमेड सुन मात्रै हो,’ महासचिव बज्राचार्य भन्छन्, ‘आफ्नो रोजाइको गहना बनाउन अब उपभोक्ताले आफैं सुन ल्याउनु पर्छ ।