Kath khabar
नवौँ राष्ट्रिय खेलकुदको तयारी

    कास्की,वैशाख ४। सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी सुरु गरेका छन् । प्रतियोगिताका लागि मुख्यगरी खेल पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति आवश्यक रहेको उनीहरूले औँल्याएका छन् । पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद निश्चित भएसँगै क्षेत्रीय खेलकुद विकास समितिमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य राजेशकुमार गुरुङले बताउनुभयो ।

उहाँले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति तत्कालै सुरु गर्नु अहिलेका लागि महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सफल बनाउनका लागि खेल पूर्वाधार नै महत्वपूर्ण हुन्छ । अधिकांश खेलका पूर्वाधार तयार भए पनि केहीको स्तरोन्नति गर्नु आवश्यक छ ।”

राष्ट्रिय खेलकुद आयोजना हुनुपूर्व देशका ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनोटका प्रतियोगितासँगै बन्द प्रशिक्षणलगायतका कार्यक्रमसमेतलाई अघि बढाउनुपर्ने हुन्छ । प्रतियोगितामा कम्तीमा ३६ वटा खेल प्रस्तावका रूपमा अघि सारिएको सदस्य गुरुङले जानकारी दिनुभयो ।

राखेपका पूर्वसदस्य एवं अग्रज खेलाडी खड्गबहादुर रानाभाटले प्रतियोगिता आयोजनाको अवसरलाई चुनौतीका रूपमा ग्रहण गर्दै चार दशकअघिको इतिहास दोहो¥याउने जिम्मा पोखरेलीहरूको काँधमा आएको बताउनुभयो । उहाँले सबै पोखरेली तथा प्रदेशवासीले प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

 (रासस) 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update