काठमाडौं, वैशाख ४। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीचको टकराव बढेको छ । निलम्बनमा परेको १० दिन पछि उक्त निलम्बन गैरकानुनी रहेको भन्दै गर्भनर अधिकारीले सरकार विरुद्ध सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरे पछि टकराव झनै बढेको हो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गर्भनर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । गर्भनर अधिकारीमाथि छानविन गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति समेत गठन भएको छ । उहाँमाथि सरकारको गोप्य सूचना चुहाएको लगायतका आरोपहरु रहेका छन् ।
सोहीकारण निलम्बनमा परेका गर्भनर अधिकारीका तर्फबाट वकिलहरु सुरेन्द्र थापा र नरेन्द्र गौतमले निलम्बन खारेजीको माग गर्दे सर्वोच्च अदालतमा मुद्धा दायर गरेका हुन् ।