
ललितपुर, वैशाख ६। विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ ।
मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो । पार्टीको बागमती प्रदेशका संयोजक समेत रहनुभएका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खानु भएको छ ।
ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवासुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेन्डा रहेको श्रेष्ठले योजना अघि सार्नुभयो । सबै पार्टीहरूले ठुला ठुला सपना देखाएर पूरा नगरेको स्मरण गर्दै श्रेष्ठले भन्नुभयो ’मैले गर्नै नसकिने ठुला ठुला सपना देखाउँदिन। तर म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु । इमानदारी मेरो पहिलो सर्त हो ।’
कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाटनको सभ्यता र कलाको जगेर्ना हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ’विश्वमा अमेरिका भन्ने देश पत्ता नलाग्दै र काठमाडौँ र भक्तपुरको सभ्यता सुरु नहुँदै पाटनको सभ्यता र वैभव थियो । हाम्रा पिता पुर्खामा रहेको सांस्कृतिक र पुरातात्त्विक चेत अहिलेको पुस्ता र नेतृत्वमा नहुँदा पाटनको सभ्यतालाई उचित संरक्षण र प्रवर्द्धन गर्न सकिएको छैन ।’
विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको नेतृत्व गर्न पाए शिक्षा, स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउनुका साथै पाटनको सभ्यतालाई जगेर्ना गर्न सम्पदा आसपासका हरेक घरलाई नेवाः सभ्यता अनुसारका बनाउन अनुदान दिने अध्यक्ष मिश्रले घोषणा गर्नुभयो । घोषणा सभामा पार्टीका नेता एवं बागमती प्रदेश सांसद शोभा शाक्यले ललितपुर महानगरमा थुप्रै पटक पुराना पार्टीले नेतृत्व गरे पनि जनताको जीवनस्तर र शहरको गौरव बढाउन नसकेको दाबी गर्नुहुदैं एक पटक विवेकशील साझा पार्टीलाई मौका दिनुपर्ने विचार राख्नुभयो ।
अघिल्लो स्थानीय निर्वाचनमा तत्कालीन साझा पार्टीको समर्थनमा उम्मेदवार रहेका रमेश महर्जन तेस्रो र उपमेयरका उम्मेदवार शोभा शाक्य उपविजेता हुनुभएको थियो ।