रामपुर , वैशाख ७। आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला पालिकाको प्रमुख र उपप्रमुखको बहस र चर्चा निकै हुने गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका सबै पालिकामा चुनावी माहोल बढेको छ । यसभन्दा अघिको निर्वाचनमा पालिका उपप्रमुख पदमा मात्रै सीमित रहेका यहाँका महिला अब प्रमुखको जिम्मेवारी सम्हाल्ने होडबाजीमा छन् । आरक्षण कोटामा मात्रै सीमित रहेका महिला अब पुरुष सरह नै प्रमुख भएर पालिका हाक्ने हिम्मतका साथ प्रमुखको दाबेदारमा आ–आफ्नै पार्टीभित्र टिकटको लागि रस्साकस्सीमा छन् ।
रामपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट यहाँ दुई महिला दाबेदार हुनुहुन्छ । वर्तमान नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र रामपुर नगरपालिका वडा नं ७ का वडा सचिव गीता पौडेलले यस पटकको निर्वाचनमा प्रमुख पदको जिम्मेवारी दिनुपर्ने भन्दै दाबी गर्नुभएको छ । नगरपालिकामा पाँच वर्ष उपप्रमुख भएर काम गर्दै गर्दा प्रमुखको पद पाएमा जिम्मेवारी निभाउन सकिने र पार्टीले टिकट दिएमा एक कार्यकाल अब नगर प्रमुख भएर काम गर्ने इच्छा रहेको नगर उपप्रमुख आचार्य बताउनुहुन्छ ।
रामपुर नगरीमा महिलाको नेतृत्वमा समग्र विकासलाई पूर्णता दिनु जरुरी रहेको बताउनुहुन्छ, अर्का प्रमुख पदका दाबेदार पौडेल । एक दश बढी रामपुर नगरपालिकामा कर्मचारी भएर काम गर्दा प्रशासनिक काममा धेरै अनुभव बटुल्नुभएकी पौडेल अब जनताको प्रतिनिधि भएर नगर प्रमुख हाक्ने ईच्छा रहेको बताउनुहुन्छ ।
“मेरो नगर प्रमुख पदमा परेको उम्मेदवारीले समग्र रामपुरवासीका महिला उत्साहित हुनुहुन्छ, सबैको साथ सहयोग सकारात्मक छ, ऐन नियम र कानुनको व्यवस्था गरी नगरपालिकाको पञ्चवर्षीय गुरुयोजना तयारी गरी दीर्घकालीन विकास निर्माणलाई प्राथमिकता दिनेछु, नगरपालिकामा अनुशासन तथा सुशासनको व्यवस्थापन गर्नेछु”, उहाँले भन्नुभयो ।
शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा रामपुरको धेरै लगानी बाहिरिएको छ । देशको आवश्यकताबमोजिम हरेक विषयको उच्च शिक्षा अध्ययन गराउन सक्ने शैक्षिक व्यवस्थापन, क्यान्सरजस्ता घातक रोगलाई निराकरण गर्न सक्ने स्वास्थ्य संस्था तथा अस्पतालको व्यवस्थापन लगायतका कुरामा जोड दिएर काम गर्नसक्ने हिम्मत रहेको पौडेलको भनाइ छ । रामपुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट दुई महिला, छ पुरुष सहित आठ जना नगर प्रमुखको रुपमा दाबेदार छन् । नेकपा एमालेबाट भने यहाँ नगर प्रमुखमा महिला आकाङ्क्षी छैनन् ।
तानसेन नगरपालिकामा नेकपा ९एमाले ० को तर्फबाट दश पुरुषसँग उपप्रमुख लक्ष्मी पाठक प्रमुख पदको दाबेदार हुनुहुन्छ । उहाँको प्रमुख पदमा परेको उम्मेदवारीले महिलामा उर्जा मिलेको छ । “पाँच वर्षको उपप्रमुख भएर काम गर्दा धेरै कुरा सिकियो, अवसर पाएमा म नगर प्रमुखले गर्ने सबै काम गर्न सक्षम छु, तर पार्टीले टिकट दिने हो कि होइन”, उहाँले भन्नुभयो ।
बगनासकाली गाउँपालिकामा भने उपाध्यक्ष सरस्वती चिदीलाई नेकपा एमालेले सर्वसहमतरुपमा पालिका अध्यक्ष सिफारिस गरेको छ । क्षमतावान् भए पनि महिला भएकै कारण नेतृत्व तहबाट पछाडि परिरहेका महिलालाई पालिकाको अध्यक्षमा गरिएको सिफारिसले अन्यत्र पालिकाका उपाध्यक्ष, उपप्रमुखहरुले महिला अध्यक्ष तथा प्रमुख पदकको दाबी गर्न थालेका छन् ।
“मसँग अध्यक्ष पदमा दाबेदार कोही हुनुभएन, सर्वसहमत रुपमा मलाई पार्टीले सिफारिस ग¥यो, यहाँको केही वडामा नेकपा एमालले महिलालाई नै वडाध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको छ, अवसर दिनुप¥यो महिलाले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्छन्”, उहाँले भन्नुभयो ।
उपाध्यक्ष चिदीले पाँच वर्षको अवधिमा पालिकाका सबै वडामा समन्वय समिति, पालिकास्तरीय महिला सञ्जाल, महिला सशक्तीकरणका लागि विभिन्न तालिम सञ्चालन गरेर महिलाको आयस्तर वृद्धि गर्ने खालका कार्यक्रम गरेको बताउनुभयो । यहाँको पालिकाका एमालेले अध्यक्षमा चिदी र उपाध्यक्षमा हरिप्रसाद पाठकलाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
पालिकाको अध्यक्ष भएर काम गर्ने मन छ तर पार्टीले नेतृत्वमा अवसर नदिने भएकाले जानेर आफूले अध्यक्षमा यस पटकको निर्वाचनमा उम्मेदवारी नदिएको बताउनुहुन्छ । माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराई । महिलाले अवसर पाएमा स्थानीय सरकार मात्रै होइन देशै चलाउन सक्ने सक्षमता छ तर पार्टीभित्रबाटै पछाडि हट्नुपरेको उपाध्यक्ष भट्टराईको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “जहाँ महिलाको नेतृत्व छ त्यहाँ स्वच्छ रुपमा विकासका कामहरु भएका छन्, भ्रष्टाचार छैन, महिला नेतृत्वमा कमजोर छैनन्, यदी पार्टीले अध्यक्षको नेतृत्वको लागि टिकट दिन्छ भने पालिका चलाउन सक्ने महिलासँग हिम्मत र आँट छ तर महिला भएकै कारण भरसक क्षमता भएरपनि नेतृत्वबाट पछाडि परिरहेका छन् ।”
पाँचवर्ष पालिकाको उपाध्यक्ष भएर काम गरेका महिलाले अब पालिकाका प्रमुख भएर काम गर्नसक्ने क्षमताको विकास उनीहरुमा भएको छ । अहिले पालिकामा पाँचवर्षको अवधिमा विभिन्न संरचना तयार, नियम कानुन, सिस्टम बसेकाले पनि अब आउने नेतृत्वलाई काममा कठिनाइ हुँदैन ।