
काठमाडौं, वैशाख ८। नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने चार दशमलव ९४ अंकले बढेर २३ सय २५ दशमलव ४५ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव छ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरुको ३६ हजार एक सय ९० पटकको कारोबारमा ३९ लाख ९१ हजार ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार आठ सय ४८ रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बीमा, ट्रेडिङ र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् विकास बैंक, जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका आठ वटा समुहको सूचकहरू बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ग्रिन भेञ्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने घलेम्दी हाइड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, नबिल बैंक, एनआईसी एशिया बैंक आदि परेका छन् ।