Kath Khabar
नेप्सेमा देखियो उत्साह : एकैदिन ९५ अंकले नेप्से बढ्दा दुई अर्ब ५३ करोडको शेयर कारोबार



    काठमाडौं, वैशाख ११। नेप्सेले छलाङ मारेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से ९५ दशमलव ४६ अंकले बढेर २४ सय २० दशमलव ९१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंकले बढेर चार सय ६० दशमलव ८८ अंकमा पुग्न सफल भएको छ । दुई सय ३८ वटा कम्पनीहरुको ४३ हजार चार सय ५० पटकको कारोबारमा आज ६६ लाख ३९ हजार पाँच सय चार कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम दुई अर्ब ५३ करोड १२ लाख ७५ हजार पाँच सय ९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा युनिभर्सल पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, लक्ष्मी इक्विटी फण्ड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सानिमा बैंकको ऋणपत्र, शिवम सिमेन्ट, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update