काठमाडौं, वैशाख १ । वैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहनुभएको छ । उहाँले सगरमाथा बेस क्याम्पबाट चलचित्रको पोस्टर र नेपालको राष्ट्रिय झन्डा सहितको ब्यानर बोकेर प्रचार प्रसार गरिरहनुभएको छ । अभिनेत्री सगरमाथा आरोहण प्रस्थान गर्नुअघि निर्माण टिमले उनलाई एक कार्यक्रम गर्दै स्वागत गरेको थियो । उहाँ हाल एभरेष्ट बेस क्याम्प ५३४८ मिटरको उचाइमा पुग्नु भएको छ ।
गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुनुहुन्छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् सँगै डिभाइन इन्टरटेनमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ ।
सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनको मुख्य भूमिका रहेको चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ। गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरु कैद गरिएको छ ।
सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुनुहुन्छ । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ ।