Kath khabar
श्रममन्त्री नेतृत्वको टोली भोलि मलेसिया जाने, एजेण्डाबारे राजदूतसँग छलफल



       काठमाडौं, वैशाख १३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधवार मलेसिया जाने भएको छ । मलेसियाका मानव संसाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लाग्नुभएको हो ।

मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भयो । भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गर्नुभएको थियो । मन्त्री श्रेष्ठ, मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल सहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नुहुनेछ भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने  नेपाल-मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नुहुनेछ ।

भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update