ललितपुर, वैशाख १४। ललितपुरको लुभुमा वैशाख शुक्ल अक्षय तृतीयादेखि महालक्ष्मी महाभैरव जात्राको मुख्य दिन भनेर धुमधामका साथ खट जात्रा मनाइने गरिन्छ।
यो दिन महालक्ष्मी, महाभैरव, आकाश भैरव, कुमारी, कुमारका मूर्तिहरूलाई पालकीमा राखेर लुभु क्षेत्रमा परिक्रमा गराईन्छ। साताव्यापी यो पर्व आफन्त, परिवार र आफन्तजनको साथ भोज र मनोरञ्जनका साथ मनाइन्छ। खट जात्रा पञ्चमीका दिन मनाइन्छ। यसदिन बाजागाजाका साथ बेलुका खट जात्रा गरिन्छ । उक्त खट टोल टोलमा पुगेपछि टोलका मानिसले महालक्ष्मी-महाभैरवको विधिपूर्वक पूजा गर्छन् र त्यसै दिन आफन्तहरूलाई बोलाई भोज खुवाउने गर्छन्। खटमा मुख्यतः महालक्ष्मी र महाभैरबका मूर्ति हुन्छन्। एउटा खटमा गणेश, महालक्ष्मी र कुमार हुन्छ भने अर्कोमा गणेश, महाभैरब र कुमारीको मुकुट हुन्छ । खट जात्रा ९ दिनसम्मै चल्छ । यो जात्रामा नेवार समुदायका श्रेष्ठले धाँ, महर्जनले धिमे र शाहीले न्याँसी बाजा बजाउँछन्।
६५० नेपाल संवतमा गंगा महारानी (मल्ल शासनकी रानी) ले यो जात्रा सुरु गर्नुभएको विश्वास गरिन्छ। पुरातन मिथकका अनुसार लुभुमा महामारी फैलिएको बेला गंगा महारानीले आफ्नो सुनको थाली (लु भनेको सुन, भू भनेको थालि) बेच्नुभएको थियो । शहरलाई महामारीबाट जोगाउन यो जात्रा शुरु गरेको हो भनेर संस्कृतिविद्हरु भन्नुहुन्छ।
उहाँका अनुसार रातो मच्छेन्द्रनाथको रथका चार पाङ्ग्रामध्ये एउटालाई लुभुको भैरवको प्रतिनिधि भनेर मानिन्छ। पुल्चोकमा मच्छेन्द्रनाथको जात्राको सुरुवात भएसँगै लुभुको खट जात्राको पनि सुरुवात हुन्छ।