काठमाडौं, वैशाख १५। हाल काठमाडौंको असन (बाल कुमारी) मा रहेको मान मन्दिर वि.सं. १८३३ मा प्रधान सेनापति अभिमानसिंह बस्न्यातले बनाउनुभएको निजी निवास थियो।
यो घरको अगाडि भित्तामा करिब ७० जना सैनिकको मूर्ति चित्रहरू छन्। त्यस बखत एउटा कम्पनी (गुल्म)मा कति फौज हुन्थे र अगाडिदेखी पछाडिसम्म के के दर्जा, के के हतियार हुन्थ्यो भन्ने सैनिक प्रमाण अहिले पनि जिवन्त छ। प्रधान सेनापतिको निवास नै सैनिक मुख्यालय (Army Headquarter) हुने प्रचलन पछि श्री ३ राणाका पालासम्म पनि थियो। तसर्थ यो भवन त्यस बखतको आर्मी हेड क्वार्टरसमेत थियो। यि सैनिकहरुको मूर्ति चित्रले गर्दा समाजले मान मन्दिरलाई 'पल्टन घर' र 'तिलंगा घर' भन्न थाले। पल्टन र तिलंगा दुवैको अर्थ फौज अर्थात सेना हो। अहिले यो घर तिलङा घरको नामले बढी प्रख्यात छ।
प्रधान सेनापति शिवराम सिंह बस्न्यातका ४ छोरा- काजी नाहारसिंह, प्रधान सेनापति केहरसिंह, प्रधान सेनापति अभिमानसिंह र मन्त्री काजी धौकल (धोकल) सिंह बस्न्यात हुनुहुन्छ। धौकलसिंह बस्न्यातले पनि 'किर्ती मन्दिर' नामको निजी निवास र नारायणको मन्दिर बनाउनुभयो। जुन स्थान हाल नारायणहिटी दरबारले प्रख्यात छ। श्री ३ वीर शमसेर राणाले 'किर्ती मन्दिर' भत्कायर अर्को भवन बनाउनुभएको थियो। नारायणहिटी र लाल दरबार इलाका धौकलसिंहको थियो। यस बखत त्यो इलाकाको नाम नारायणहिटी थिएन।
स्रोत- डा. प्रेम सिंह बस्न्यात, सहायक रथी(अप्रा)