काठमाडौं, जेठ ५ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आफ्नो आधार ब्याजदरमा नै अक्सिजन प्लान्टलाई कर्जा दिन सक्ने व्यवस्था गरेको छ । यस व्यवस्था अनुरुप हेर्ने हो भने अहिले अक्सिजन प्लान्टको स्थापनाका लागि ५ दशमलव ३३ प्रतिशतमै कर्जा पाउने देखिएको छ ।
तर यसको लागि भने अस्पताल तथा उद्योगले आधार दर कम भएको बैंक छान्नु पर्ने हुन्छ । बैंकहरुको चैत मसान्तसम्मको विवरण अनुसार हेर्ने हो भने सबैभन्दा सस्तो स्ट्याण्डर्ड चार्टड बैकबाट सस्तोमा कर्जा पाउन सक्ने देखिन्छ । जसको आधार दर अहिले ५ दशमलव तीन तीन प्रतिशत रहेको छ ।
त्यसपछि राष्ट्रिय बाणिज्य बैंकको आधार दर अहिले ५ दशमलव पाँच शुन्य प्रतिशत रहेको छ ।
अब हेरौ कुन बैंकको आधार दर कम छ त ? ( चैत महिनामा प्रकाशन गरेको वित्तीय विवरण अनुसार )
१. स्टायण्डर्ड चार्टड ५.३३ %
२. राष्ट्रिय बाणिज्य ५.५० %
३. नेपाल इन्भेष्टमेन्ट ५.९५ %
४. नेपाल बैंक ५.९८ %
५. एभरेष्ट बैंक ६.१० %
६. नबिल ६.१८ %
७. सानीमा ६.२३ %
८. ग्लोबल आइएमई ६.४० %
९. हिमालयन ६.७५ %
१०. एनआइसी एसिया ६ंं.७७ %
११. लक्ष्मी ६.७९ %
१२. सिद्धार्थ ६.९९ %
१३. प्रभु ७.०६ %
१४. माछापुछ्रे ७.०९ %
१५. प्राइम ७.१४ %
१६. एनएमबी ७.१९ %
१७. सनराइज ७.२३ %
१८. नेपाल क्रेडिट एण्ड कमर्स ७.४१ %
१९. सिटिजन्स ७.४४ %
२०. नेपाल एसबिआई ७.४६ %
२१. कृषि बिकास बैंक ७.४८ %
२२. नेपाल बंगलादेश ७.५६ %
२३. मेगा ७.५९ %
२४. बैंक अफ काठमाडौं ७.६० %
२५. कुमारी ७.६३ %
२६. सेञ्चुरी ७.७७ %
२७. सिभिल ७.८२ %
साथै नेपाल राष्ट्र बैैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो संसोधन गर्दै स्वास्थ्य संस्था तथा अस्पताल र उद्योगले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि कर्जाको माग गरेमा आधार दरमा नै ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो ।
यसबाहेक मंगलबार मौद्रिक नीतिको तेस्रो समिक्षा गर्दै राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराइने व्यवस्था गरेको छ ।
निषेधाज्ञा अवधिभर र त्यसको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्यतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम अक्सिजन सिलिण्डर, भ्याक्सिन र औषधीमा खर्च गर्न पाउने भएका छन् ।
साथै राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गरिने व्यवस्था गरिएको छ । त्यस्तै निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने पनि व्यवस्था गरिएको छ ।