फ्रान्स, जेठ ५ ।रियल मड्रिडका स्टार स्ट्राइकर करिम बेञ्जेमा ६ वर्ष पछि फ्रान्सको राष्ट्रिय टिम फर्किनु भएको छ ।
जुन ११ बाट जुलाई ११ सम्म हुने युरोकप फुटबलका लागि प्रशिक्षक डिडियर डेसच्याम्पले बेञ्जेमालाई समेटेर राष्ट्रिय टिमको घोषणा गर्नुभएको हो । सन् २०१५ को अक्टोबरमा उहाँलाई आफ्नै टिम मेट्स म्याथ्यु बुल्बुयनाको व्यक्तिगत भिडियो सार्वजनिक गरेको आरोपमा टिमबाट निष्काशन गरिएको थियो । तर ३३ वर्षिय बेञ्जेमाले आफुमाथि लागेको आरोपको खण्डन गर्दै आउनु भएको छ ।
२०१६ देखि बेञ्जेमा राष्ट्रिय टिमबाट बाहिर छन् । २०१६ मा फ्रान्सले युरो कपको फाइनलको यात्रा तय गर्दा बेञ्जेमा टिममा अटाउनु भएन । २०१८ मा फ्रान्सले फिफा विश्वकप जित्दा उहाँ टिम बाहिर हुनुन्थ्यो । उक्त अविस्मरणीय घटना पछि बेञ्जेमालाई राष्ट्रिय टिममा कहिले पनि अवसर नदिने डेस्च्याम्पले बताउनु भएको थियो । तर उत्कृष्ट लयमा रहेका बेन्जेमालाई टिममा राख्न दबाब बढेको थियो । जारी सिजन बेञ्जेमाले रियलका लागि सबै प्रतियोगितामा गरि ४४ खेलमा २९ गोल गर्नुभएको छ ।
फ्रान्सका लागि बेञ्जेमाले ८१ खेलमा २७ गोल गर्नुभएको छ । ओलिभर जिरुड चेल्सीको पहिलो रोजाईमा नपर्दा बेञ्जेमालाई प्लेइ इलोभनमा मौका दिन सक्ने अनुमान लगाइएको छ । बेञ्जेमा सहित एन्टोइन ग्रिजमन, केलियन एम्बाप्पे, किंग्सले कोमन, ओस्मान डेम्बेले सहित युरो कप खेल्ने २६ सदस्यीय टोलीको नाम गएराती सार्वजनिक गरिएको हो ।