Kath Khabar
टाइफोइड खोप लगाएका बालबालिका बिरामी परेपछि 'अनुसन्धान सुरु',  विज्ञ भन्छन् 'सामान्य असर हुन्'

       काठमाडौं, वैशाख १६। टाइफोइड रोगविरुद्धको खोप लगाएका केही बालबालिका बिरामी परेको जानकारी आएपछि त्यसको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्। उनीहरूका भनाइमा नेपालमा पहिलो पटक अभियानकै रूपमा सुरु गरिएको उक्त खोप लगाएपछि केही बालबालिकामा सामान्य लक्षणसहितका समस्या देखिएका छन्।

तर दुईवटा घटनामा अलि गम्भीर प्रकृतिका लक्षणहरू देखा परेको खोप कार्यक्रममा संलग्न एक अधिकारीले बीबीसीलाई बताए। यद्यपि नेपालमा प्रयोग भइरहेको उक्त खोपका एकजना प्रमुख अध्ययनकर्ता चिकित्सक त्यस्ता लक्षणहरूलाई सामान्य रूपमा लिनुपर्ने र खोप कार्यक्रम जारी राख्नुपर्ने बताउँछन्।

कस्ता लक्षण देखिएका छन् ?
काठमाडौंस्थित कान्ति बाल अस्पतलामा हाल खोप लगाएपछि बिरामी भएको भन्दै दिनहुँ जसो बालबालिकालाई ल्याउने क्रम देखा परेको चिकित्सकहरूले बताएका छन्।  निर्देशक डा. युवानिधि बसौलाका अनुसार उक्त अस्पतालको बहिरङ्ग विभागमा दैनिक १,००० जति बालबालिका बिरामी भएर आउने गरेका छन्। उनका अनुसार तीमध्ये हाल १० देखि १५ जना टाइफोइडको खोप लगाएपछि बिरामी भएका बालबालिका छन्।

प्राय: उच्च ज्वरो आएर यहाँ आउनेहरू छन् उनले भने, उनीहरूको हिस्टरी हेर्दा खोप लगाएको एकाध दिनदेखि ज्वरो आएको देखिएको छ।त्यसबारे हामीले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई पनि जानकारी गराइसकेका छौँ।खोप अभियान सुरु भएको एकाध दिनदेखि नै त्यस्तो समस्या लिएर बालबालिकालाई ल्याइने क्रम चलेको उनले बताए।

अधिकारीहरूको भनाइ के छ ?
खोप कार्यक्रम सञ्चालन गरिरहेका स्वास्थ्य अधिकारीहरूले पनि खोप लगाएपछि बालबालिका बिरामी परेको जानकारी आएको बताएका छन्।यद्यपि उनीहरू त्यस्ता बालबालिकामध्ये अधिकांशमा खोपका कारण हुने सामान्य लक्षण देखापरेको बताउँछन्।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा। विवेककुमार लालले विभिन्न स्थानबाट खोप लगाएपछि स्वास्थ्य समस्या देखिएकोू भन्ने खबर आएको बताए। तर त्यसमध्ये अधिकांश सामान्य लक्षण भएको उनको भनाइ छ।

दुई जनामा अलि गम्भीर खालका लक्षणहरू जस्तै खोप लगाएको केही घण्टापछि बेहोस भएको र हातखुट्टा कमजोर बनेको भन्ने विवरण आएको छ। त्यसको हामी अनुसन्धान गर्छौ, उनले भने।कुनै पनि खोप असररहित हुने भन्ने हुँदैन। खोप लगाएको स्थानमा दुख्ने, ज्वरो आउने, सुन्निने, बान्ता हुने, रिँगटा लाग्ने हुनसक्छ। उनी लाखौँ जनामा केहीलाई गम्भीर लक्षण पनि देखिन सक्ने बताउँछन्।

तर नेपालमा खोप ऐनले समेत खोपपछि देखिने त्यस्ता लक्षणहरूलाई निरन्तर निगरानी गर्दै त्यसको कारण खोज्नुपर्ने व्यवस्था गरेको उनको भनाइ छ। कानुनले नै नेपालमा सञ्चालित खोप लगाएपछि हुने त्यस्ता दुष्प्रभावको अभिलेख राख्ने तथा जानकारी दिने व्यवस्था गरेको लालले बताए। कानुनअनुसार नै खोप कार्यक्रम सञ्चालन पूर्वदेखि विज्ञ टोलीको गठन हुने र त्यसले खोप सञ्चालनपछि उत्पन्न यस्ता परिस्थितिमा अनुसन्धान गर्ने लाल बताउँछन्। अहिलेका हकमा पनि त्यस्तै गरिने उनको भनाइ छ।

लाल भन्छन्, अहिले बिरामी बनेका बालबालिकाको पनि उनीहरूको उपचारमा संलग्न चिकित्सकबाट विस्तृत विवरण लिएर खोजपडताल गर्छौ र त्यसलाई पछि सरकारमार्फत् जानकारी पनि गराउँछौँ। उनले यसरी गरिने अनुसन्धानका क्रममा ती लक्षणहरू खोपसँग सम्बन्धित हुन् वा होइनन् भन्ने हेरिने बताए।

यो खोप अनुसन्धानका क्रममा नआएको र डब्ल्यूएचओले प्रयोग अनुमति दिइसकेको तथा कतिपयले प्रयोग गरिरहेकाले भ्रममा नपर्न लालले सबैलाई आग्रह गरे। उनले भने, यो अनुसन्धानका क्रममा आएको खोप होइन। केही सामान्य असरहरू सबैखाले खोपका हुन्छन् त्यसैले यसमा ढुक्क भए हुन्छ।

विज्ञको भनाइ
नेपालमा हाल प्रयोग भइरहेको टाइफोइडविरुद्धको खोपको अन्तर्राष्ट्रिय अनुसन्धानमा संलग्न तथा त्यसको प्रमुख अध्ययनकर्ता चिकित्सक डा बुद्ध बस्न्यात लाखौँलाई खोप दिँदा केहीमा असर देखिने बताउँछन्। तर उनका भनाइमा गम्भीर प्रकृतिका असरहरू देखिनुको कारण खोप नहुन सक्ने हुन्छ। उनले भने, धेरैलाई दिन थालेपछि अरू रोगका कारण पनि कतिपय असर हुन सक्छन्। भ्याक्सीनले नै गर्‍यो भनेर किटेर भन्न सकिँदैन र गरेन पनि भन्न सकिँदैन।

यद्यपि उनी गम्भीर प्रकृतिका असरहरू उक्त खोपले पारेको भन्नेमा विश्वास गर्दैनन्। त्यो बालबालिकामा पहिलेदेखि नै भइरहेको अन्य समस्याका कारण उत्पन्न भएको हुनसक्ने उनको मत छ। उनले भने, यसले ध्यानाकर्षित गर्नु महत्त्वपूर्ण छ तर भ्याक्सीनले नै गर्‍यो भन्ने निष्कर्षणमा पुग्नु हुँदैन। यसलाई गम्भीरतापूर्वक लिनुपर्छ र त्यसलाई अध्ययनका रूपमा लिनुपर्छ। अनि खोप लगाउने कार्यलाई जारी राख्नुपर्छ।

कुन खोप दिइँदैछ
अधिकारीहरूका अनुसार नेपालले गाभी विश्वव्यापी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, यूनिसेफलगायत विभिन्न साझेदारमार्फत् टाइफोइड कन्जुगेट खोप (टीसीभी) दिन सुरु गरेको हो। परिवार कल्याण महाशाखा प्रमुख लालका अनुसार हाल बायोलजिकल इलिमिटेड र भारत बायोटेक कम्पनीका खोपहरू उपलब्ध छन्। उनले भने, यी दुवै खोपहरू विश्व स्वास्थ्य सङ्गठनबाट स्वीकृति प्राप्त खोपहरू हुन् र नेपालमा अहिले चाहिँ बायोलजिकल इलिमिटेडको खोप प्राप्त भएको छ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफोइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्ने नेपाल चौथो मुलुक भएको बताइएको छ। यसअघि पाकिस्तान, लाइबेरिया र जिम्बाब्वेले गाभी र उसका साझेदार संस्थाबाट उक्त खोप सहयोगमा प्राप्त गरिसकेको यूनिसेफ नेपालले खोप अभियान सुरु हुने बेलामा जारी गरेको वक्तव्यमा उल्लेख छ।

नेपालमा टाइफोइड
अहिले नेपालमा कुल ५० हजार खोप केन्द्रबाट टाइफोइडको खोप दिने कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। यो अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिका समेटिने लालले जानकारी दिए।

त्यसमध्ये करिब दुईतिहाइ जतिले खोप पाइसकेको बताइएको छ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूका विवरण अनुसार नेपालमा बर्सेनि टाइफोइडबाट करिब चार लाख ५० हजार व्यक्तिहरू सङ्क्रमित हुने गर्छन्। त्यसमध्ये कम्तीमा एक हजार मानिसहरूको उक्त रोगका कारण निधन हुने गर्छ। मृत्यु हुनेमध्ये ६० प्रतिशत बालबालिका हुने गरेको बताइन्छ। 

(बीबीसी)

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update