काठमाडौं, वैशाख १७। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ ।
सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएको भन्दै निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको हो । इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले असहयोग गरेका कारण देशभर इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको हो । शनिबार विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने संघले बताएको छ।
‘राज्यका निकायहरु नै इन्टरनेट बन्द गराउने उद्देश्यका साथ निरन्तर लागिरहेको आभास हामीलाई भएको छ, किनभने विगत ६ महिनादेखि इन्टरनेट र निजी क्षेत्रलाई सिध्याउने किसिमका गतिविधिको निरन्तरता राज्य र राज्यका निकायबाट भइरहेको छ । ‘विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेको र गर्न लगाएको छ, यसकारण उक्त कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको छ।’’ विज्ञप्तिमा भनिएको छ ।
संघले वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस पनि नमनाउने घोषणा गरेको छ।