Kath khabar
चुहावट नियन्त्रणमा राजश्व अनुसन्धान विभाग : नौ करोड ६७ लाख रुपैयाँ बिगो माग गर्दै एभरेष्ट यती विरुद्ध अभियोग पत्र दायर


     काडमाडौं, वैशाख १९। राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले नौ करोड ६७ लाख रुपैयाँ बिगो माग गर्दै एभरेष्ट यती इन्टरनेशनल विरुद्ध अभियोग पत्र दायर गरेको छ । विभागले राजस्व चुहावट सम्बन्धी कसुरमा यही बैशाख १६ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका देउजागाउँमा, स्थायी बसोबास गर्ने एभरेष्ट यति इन्टरनेशनल प्रा. लि. को शेयरधनी तथा संचालक दिपक कुमार देउजा र भक्तपुरको सूर्यविनायक नगरपालिका देउजागाउँमा, स्थायी बसोबास गर्ने एभरेष्ट यति इन्टरनेशनल प्रा. लि.को शेयरधनी अचला थापा देउजा विरुद्ध मुद्दा दायर गरिएको हो, विभागले भनेको छ । विभागका अनुसार एभरेष्ट यति इन्टरनेशनल प्रा. लि.ले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरणहरू तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमहरू बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको देखिएको छ ।

सोही आधारमा राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलोसंसोधन सहित) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ग) र (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले सोही ऐनको दफा २ (छ १) हुन आउने मु.अ.कर तर्फ तीन करोड ४० लाख १८ हजार र  आयकर तर्फ छ करोड २७ लाख १४ हजार छ सय ६० रुपैयाँ समेत जम्मा हुन आउने कुल बिगो नौ करोड ६७ लाख ३२ हजार पाँच सय ६० रुपैयाँ मात्र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन सहित) को दफा २३ (१) बमोजिम प्रतिवादीहरुबाट विगो नौं करोड ६७ लाख ३२ हजार पाँच सय ६० रुपैयाँ असुल गरी सोही ऐनको दफा २३ (१) बमोजिम कायम भएको बिगोको शत प्रतिशत अर्थात नौ करोड ६७ लाख ३२ हजार पाँच सय ६० रुपैयाँ  जरिवाना तथा दफा २३ (१) (ग) बमोजिम कैद सजाय हुन मागदाबी गरी अभियोग पत्र दायर गरिएको विभागले जानकारी दिएको छ ।  


 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update