Kath Khabar
नेप्सेमा फेरि पनि पहिरो, ४८ अंंकले घट्दा सबै सूचक रातै


     काठमाडौं, वैशाख १९ । नेप्सेमा फेरि पनि पहिरो गएको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से ४८ दशमलव ७३ अंकले घटेर २३ सय सात दशमलव ४४ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि आठ दशमलव ४५ अंकले घटेर चार सय ४१ दशमलव ७९ अंकमा सीमित हुन पुगेको छ। नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरूको ३१ हजार चार सय चार पटकको कारोबारमा ३९ लाख ७८ हजार ७९ कित्ता शेयर किनबेच भएको छ । सोही किनबेचको आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ४२ करोड ३४ लाख ९८ हजार दुई सय ९२ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घट्दा नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज जाल्पा लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फन्ड, राष्ट्रिय बीमा कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नेपाल फाइनान्स, युनियन हाइड्रो पावर लिमिटेड, ग्रिन भेञ्चर लिमिटेड, लिबर्टी इनर्जी कम्पनी आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण भ्याली हाइड्रो पावर लिमिटेड, युनियन हाइड्रो नेपाल लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update