Kath khabar
विकासको लागि सबैभन्दा ठूलो बाधा भ्रष्टाचार हो, त्यो नियन्त्रण गर्छु, विकास आफै हुन्छ

 

         ललितपुर, वैशाख २०। विगत लामोसमयदेखि सामाजिक सेवामा सक्रिय रहनुभएका ललितपुरका स्थानीयवासी हुनुहुन्छ, उज्ज्वल श्रेष्ठ। आफ्नो व्यवसायिक तथा पेशागत जीवनबाट माथि उठेर सामाजिक कार्यमा अहोरात्र खटिनुभएका श्रेष्ठ, आम ललितपुरवासीका आशा अनि भरोसाका केन्द्र हुनुहुन्छ । विगतमा महानगरपालिकामा नेतृत्व तहबाट भएका गल्ती कमजोरीलाई चिरेर भ्रष्टाचार नियन्त्रण गर्दै विकासलाई आम नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यका साथ उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट चुनाव चिन्ह तराजु लिएर निर्वाचनमा होमिनु भएको छ ।

यसअघि साढे चार वर्ष पहिले पनि चुनावमा भाग लिएको अनुभव उहाँसँग रहेको छ । त्यतिबेला पनि उहाँले राम्रो मत ल्याउनु भएको थियो । अहिलेसम्म ठूला पार्टीले जे जति गर्यो त्यसमा उहाँलाई सन्तुष्टि मिलेको छैन । त्यही भएर पनि यसपालि आफै केही गर्ने सोचका साथ चुनावी मैदानमा होमिएको हुँ, उहाँ भन्नु हुन्छ ।

'सबैले अहिले नयाँ खोजिरहेका छन् । नयाँ भन्दैमा जो पनि तयार हुने हैन । तर जहाँसम्म लाग्छ मेरो पहिलादेखिको समाजसेवाको कामले उहाँहरूलाई पनि म माथि विश्वास छ । त्यसकारण म अगाडि बढेको हुँ', उहाँले चुनावी मैदानमा उत्रिनु पर्नाको कारणबारे भन्नुभयो । एउटा हामीलाई के गाह्रो हुन्छ भने हरेक वडामा वडा अध्यक्ष हाम्रो हुदैन । संस्कार नै फरक छ । म त्यो संस्कारलाई चिरेर अगाडि बढ्न चाहान्छु, उहाँ भन्नुहुन्छ ।

चुनावी घोषणापत्रको बारेमा श्रेष्ठ भन्नुहुन्छ, 'सबैले भन्ने सामान्य कुरा हो । घोषणापत्रमा भने ठुलो कुरा गर्छन् । तर गरेर देखाउनु ठूलो कुरा हो । घोषणापत्र यस्तो हुनुपर्यो कि जुन लागू हुनु पर्यो । हाम्रो घोषणापत्रमा लेखिएको कुरा त गर्न नसकिने चाँही होईन, गर्न त सक्ने नै छन् । तर होला जति प्रतिशतले हुनु पर्ने हो, त्यो चाँही नहोला । तर हाम्रोमा साँच्चै नै स्मार्ट सिटी अनि फ्लाईओभर भन्ने चिजहरु केही पनि छैन । हामीले सक्ने खालको चिजहरु समाबेश गरेका छौं', उहाँ भन्नुहुन्छ ।

विकासको बारेमा कुरा गर्दा, विकासमा सबैभन्दा ठुलो बाधक भनेको भ्रष्टाचार हो । १० अर्बको बजेट आउँदा पाँच अर्ब रुपैंयाँ जति गायब हुन्छ । अनि जति ज्ञाता र जति दिमाग भएको मान्छेले पनि विकास गर्न सक्दैन । किनभने आधा पैसा पहिला नै हराईसकेको हुन्छ । श्रेष्ठ भन्नुहुन्छ,

सहयोग ल्याउन एकदमै गाह्रो छ । किनभने जब म सच्चा भएर काम गर्छु, अरुको डर त भई नै हाल्छ। राम्रो मान्छेलाई फसाईन्छ। यहाँ सबै भ्रष्टाचार त कम गर्न सक्दिन तर बिस्तारै कम चाँही गराउने कोशिस गर्छु, उहाँले भन्नुभयो । भ्रष्टाचार हुन नदिन समय, समयमा वडामा अध्यक्षहरुले के गर्दै हुनुहुन्छ ? त्यो ध्यान दिनुपर्यो । कुनै पनि प्रोजेक्टमा म दिनको २० घण्टा भएपनि निगरानी गर्न जाने गर्छु, किनभने त्यहाँ के काम कसरी भईराखेको छ भन्ने हेरेर बुझ्नु जरुरी रहेको छ ।

स्वास्थ, शिक्षा अनि अरु पुरातात्विक चिजहरुको लागि म केहि गर्नेछु, जुन अरुले गर्न सकेको छैन उहाँ भन्नु हुन्छ । शिक्षा स्वास्थ्य तथा यातायातको सुविधा, इलेक्ट्रोनिक सवारी साधनको व्यवस्थालाई विशेष जोड दिइने उहाँले बताउनुभयो। नागरिक सचेतना अभियान चलाउने जस्तै नगरको सरसफाई तथा सरसफाईमा नियम पालना नगर्नेलाई जरिवानाका साथ कडाई गर्ने जस्ता कुरा पनि अगाडि बढाइने उहाँले बताउनुभयो ।

ललितपुरमा थुप्रै सांस्कृतिक सम्पदाहरु रहेका छन्, नेवाको दरबार स्क्वायरदेखि लिएर, बाग्मती, हरिसिद्धी सबै ठाउँमा सम्पदाहरु रहेका छन् । सम्पदाहरुलाई जोगाइराख्न पनि हाम्रो प्रमुख भूमिका हुनेछ । ५० बर्षभन्दा पहिले यहाँ नेवारहरु मात्र रहेका थिए तर अहिले भने यहाँ सबै जातजातिका मानिसहरु बसोबास गर्छन् । जसमा राई, लिम्बु, बाहुन, क्षेत्री तामाङहरु लगायतका रहेका छन् । यसकारण हामीले सबैको सम्पदाहरुलाई अनि त्यसको कला संस्कृतिलाई बचाउन, जगेर्ना गर्न के गर्ने त्यो पनि हामीले सोचेका छौं उहाँले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा शिक्षाको लागि आउने बजेटलाई व्यवस्थित गरेर १२ कक्षासम्म निशुल्क गर्ने, कुनैपनि पार्टीमा आवद्ध नहुनुभएका शिक्षकहरु उत्पादन गर्ने, आधुनिक शिक्षा कसरी दिने भनेर पालिकाले बेला बेलामा सेमिनार गर्ने जस्ता कुरालाई अगाडि ल्याउने कुरा उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा फिटनेस सम्बन्धी ज्ञान दिने, उपचारमा छुटको व्यवस्थापन गर्ने, अण्डरग्राउण्ड पार्किङको व्यवस्थापन जस्ता कुराहरुलाई जोड दिइने कुरा उहाँले बताउनुभयो । यसको लागि जनताले विश्वास गरेर एकचोटी यस ठाउँको विकास गर्ने मौका दिनुपर्ने उहाँले बताउनुभयो । साथै हरेक नागरिकले मेरो नाता, मेरो जाती मान्छे, मेरो पार्टी कुनैपनि किसिमको प्रलोभनमा नपरी भोट हाल्न सबैलाई आग्रह गर्नुभयो ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  २३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update