Kath khabar
सबैभन्दा गाह्रो जित्नु तथा लक्ष्यमा पुग्नु हो, जनताद्वारा रुचाइएका छौ, काम गरेर देखाउँछौं


         ललितपुर, वैशाख २१। ललितपुर महानगरपालिकाको वडा नं १५ बाट नेपाली कांग्रेसको वडा अध्यक्षको उम्मेदवारको रुपमा उठ्नु भएका कमल कुमार विष्ट, नेपाली कांग्रेसको जिल्ला सदस्य हुनुहुन्छ । वडाको सर्वाङ्गीण विकासको लागि पूर्ण रुपमा काम गरेर देखाउने प्रतिवद्धताका साथ आउनुभएका उहाँ प्रबल दाबेदारका रुपमा हुनुहुन्छ ।

चुनावी घोषणापत्रको बारेमा उहाँ भन्नुहुन्छ, समग्र रुपमा वडाको विकासको लागि अहिले विशेष गरी केन्द्रित भनेको नै फोहोरमैला कै हो। ढल व्यवस्थापनको कुरा, खानेपानी, सडकको कुराहरु लगभग समेटिइसकेका हुन्। महानगरका कतिपय क्षेत्रमा पानीको समस्या अझै यथावत नै छ। अहिले मेलम्ची रिङरोडभित्र आइसकेको छ । त्यसको लागि मेलम्ची पानीको मुहान हाम्रो क्षेत्रको ढोलाहिटीमा राखिएको छ । पानीको समस्या हटाउनको लागि पाइप लाइन बिछाएर नलागेपनि कनेक्सन भएको पाइपमा मेलम्ची पाइपलाइन जोड्न सक्यो भने घरघरमा तत्काल पानी पुर्याउन सकिन्छ ।

वडाको वृहत सोचको रुपमा एकीकृत रुपमा फोहोरको वर्गीकरण गरेर फोहोरलाई मोहर बनाउने अभियानमा लैजाने उहाँले बताउनुभयो, यसको लागि हामीलाई प्रविधिको आवश्यकता पर्दछ। सम्भव भएसम्म फोहरमा काम गर्ने साथीहरूलाई नै वृहत रुपमा त्यो कार्यक्रममा अगाडि बढाउने कुरा उहाँले बताउनुभयो । हरियाली नभएको ठाउँमा वडाका बासिन्दाहरूसँगै सहकार्य गरेर ग्रिनवेल तथा सभ्य वातावरण बनाउने अभियानमा छौ । हामीसँग सार्वजनिक जग्गाहरू पनि छन् त्यसलाई पार्कको रुपमा निर्माण गरेर वृद्धवृद्धा तथा बालबालिकाहरुको लागि सम्भव भए बिहानसाँझ टहलपहल गर्नलाई पनि पार्क निर्माण गर्ने अभियान पनि हामीले राखेका छौ, उहाँले भन्नुभयो ।

शिक्षाको पाटोमा भने उहाँको जोड राम्रो शिक्षा, असल शिक्षाको लागि सरकारी र प्राइभेट स्कुल मर्ज गरेर असल रणनिति बनाएर विद्यार्थीहरूलाई उच्च शिक्षा दिने अभियान रहेको बताउनुभयो । सरकारले सम्पूर्ण वडाहरुमा वडा स्वास्थ्य चौकीहरू दिएको त छ, तर दीर्घरोगीहरुको लागि सरकारले निर्देशन दिएअनुसार वडाले तल्लो स्तरका, पहुँच नभएका नागरिकसम्म पुर्याउन सकेको छैन । हामी आयौं भने वडाका घरघरमै गएर त्यो सेवा प्रदान गर्नेछौ उहाँले भन्नुभयो ।

उहाँ अगाडि भन्नुहुन्छ, स्कुलहरुसँग सहकार्य गरेर कुनैपनि वडाले जेहेन्दार तथा गरिब विद्यार्थीहरूलाई वर्षमा एकपटक पाँचजनालाई निःशुल्क डाक्टर बनाउने अभियान रहेको छ । कुनैपनि वडाले वर्षमा ५ जनालाई मात्र डाक्टर बनाउने अभियानमा लाग्यौ भने ५ वर्षमा २५ जना डाक्टरहरु उत्पादन गर्न सकिन्छ । यस्तो गर्नाले हामीले महिनैपिच्छे विभिन्न रोगको स्वस्थ्य शिविर चलाउन सक्छौं । सम्पूर्ण रोगको परिक्षण, निरीक्षण गर्न सक्छौं ।

उहाँ भन्नुहुन्छ, सबैभन्दा गाह्रो जित्नु तथा लक्ष्यमा पुग्नु हो । तर जनताद्वारा रुचाइएका छौ, त्यसैले लक्ष्यमा पुगिसकेपछि काम नै गरेर देखाउनेछौ, यो पनि हाम्रो एउटा अभियान हो । अन्य सेवाहरुको बारेमा उहाँ भन्नुहुन्छ, अहिले सबैभन्दा गाह्रो वडाले दिने सिफारिस हो । मृत्युदर्ता, नाता प्रमाणित लिन खेप्नुपर्ने दुःखलाई अन्त्य गर्दै जनताका घरघरमा गएर सेवा दिन एउटा टिम बनाउनेछौं । यसलाई हामी नमुनाका रुपमा अगाडि बढाउनेछौं । सडकको स्तोरन्नती ठेक्का पट्टाको काममा कुनै जालझेल नगरी वडामै भएका राम्रा काम गर्ने ठेकेदार साथीहरुसँग तथा विज्ञ टोलीहरुसँग राय सल्लाह सुझाव लिएर काम गर्नेछौं । आफ्नो अधिकार प्रयोग गरी मनोमानी काम गर्नेछैनौ ।

अर्को महत्वपूर्ण कुरा जनताको सुरक्षा हो। यसको लागि सिसिटिभि जडान मात्र समस्याको समाधान होइन। यसको लागि सुरक्षा निकायसँग समन्वय गरेर टोलटोलका साथीहरूलाई सक्रिय बनाएर, तथा वडाबाट कर्मचारी नै खटाएर २४सै घन्टा सुरक्षा दिने व्यवस्था मिलाउने पनि उहाँले बताउनुभयो । पार्किङ्ग जस्तो जटिल समस्यालाई व्यवस्थित गर्न ट्राफिकसँग मिलेर पहल गर्ने पनि बताउनुभयो ।

टोलसुधार तथा टोलविकासको काममा जनताहरुकै अगाडि गएर तपाइहरुलाई के समस्या छ यसको लागि मैले के गर्न सक्छु भनेर सोधेर जसरी मैले भोट मागेको छु त्यसरी नै जनताको घरदैलोमा गएर जनताको समस्या सुन्नेछु र त्यहि अनुसार काम गर्न निरन्तर लागिरहनेछु ।

उहाँ बताउनुहुन्छ "जनताको काम गरेर अगाडि बढ्छु भनेपछि पछाडि हट्ने कुरा आँउदैन । हार र जित हैन विजेता र उपविजेता हुने हो । म जे भएपनि निरन्तर समाजसेवामा म लागि नै रहनेछु ।"

 


 

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update