काठमाडौं, जेठ ५ । कोभिड १९ को दोस्रो लहरको सबैभन्दा बढी असर होटल तथा रेष्टुरेन्टहरुमा परेको छ । नेपाल राष्ट्र बैंकले आज बुुधबार सार्वजनिक गरेको कोभिड १९ को असर सम्बन्धी प्रतिवेदन अनुसार सबैभन्दा बढी असर होटल क्षेत्रमा परेको देखिएको हो ।
प्रतिवेदन अनुसार गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुको उत्पादन, कारोबारको अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन, कारोबार रहेकोमा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव चार प्रतिशत पुगेको छ ।
गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन, कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४० दशमलव आठ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सवैभन्दा कम हो, प्रतिवेदनमा भनिएको छ ।
कोभिड १९ को दोस्रो लहर र यसको नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको निशेधाज्ञाकारण उद्योगहरुको ज्याला खर्च पनि बढेको छ । कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा चार दशमलव एक प्रतिशत मात्र उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ वैशाखमा बढेर ८१ दसमलव दुुई प्रतिशत पुगेको देखिएको छ ।
सर्वेक्षणमा सहभागी विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ । हालसम्म पनि चार दशमलव दुई प्रतिशत उद्योग, व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे प्रतिवेदनमा उल्लेख छ ।