भक्तपुर, जेठ १। मध्यपुरथिमि नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ९८८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नुभएको छ । वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनुभएको छ । यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी हुनुभएको छ ।
गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले दुई हजार ७९९ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ भने प्रतिद्वन्द्वी एमालेका मदनसुन्दर श्रेष्ठले दुई हजार ११३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखतर्फ एमालेका उत्तरा नेपालले दुई हजार ४७० मतका साथ अग्रता कायम राख्नुभएको छ भने गठबन्धनबाट नेकपा( माओवादी केन्द्र ) का विजयकृष्ण श्रेष्ठले एक हजार ६५३ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी रहेको मतगणनास्थलबाट सहायक मतदान अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।
त्यसैगरी भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनुभएको छ । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो । मत गणना जारी छ ।