काठमाडौं, जेठ १। काठमाडौं नगरपालिकामा पछिल्लो २४ घन्टामा ३.१४% अर्थात् ६००० मत मात्र गणना भएको छ । अहिलेको गतिमा मत गणना भए काठमाडौं महानगरपालिकाको मत परिणाम आउन ३० दिन लाग्ने देखिन्छ । ३,००,२४२ मतदाता रहेको काठमाडौंमा ६३% मतदान भएको थियो अर्थात् १,९१,००० मत खसेको थियो। एउटा मतपत्र गणना गर्न २ मिनटदेखि २० मिनटसम्म लाग्ने देखिएको छ।
२०७४ सालमा भएको निर्वाचनमा पनि मत गणना गर्न १४ दिन लागेको थियो। मत गणनामा ढिलाई भएपछि त्यतिबेला निर्वाचन आयोगले हस्तक्षेप गर्दै छिटो गणना गर्न निर्देशन नै दिएको थियो। त्यतिबेला आयोगले ७ दिन भित्रै मत गणना सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो।
मत गणनाको सुरुवाती चरणमा ढिलाई भएपछि गणक टोली थप गरी ५ दिन भित्र परिणाम सार्बजनिक गर्ने आयोगको लक्ष्य छ। मत पत्रको सुरक्षाका लागि तार जाली राखिएपछि गणकले दलका प्रतिनिधिलाई जालीभित्रबाट मतपत्र देखाउनु पर्ने बाध्यता छ। यो प्रक्रियाले ढिलाई भएको गणकहरुको भनाइ छ। अहिलेसम्मको मत गणनामा मेयरमा स्वतन्त्र उम्मेदवार दोब्बर मतले अग्रता लिईरहेका छन्।