Kath khabar
कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

 

          काठमाडौं, जेठ २ । काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६४८६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको छ ।

नेकपा (एमाले) का केशव स्थापितले ३४१३ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३००९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले ५८४४ नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६०९ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ ।

वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ । केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । कामपामा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update