काठमाडौं, जेठ २ । राजु लामा एण्ड द मंगोलियन हर्टका फ्रन्ट म्यान राजु लामाले विश्व कै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण सम्पन्न गर्नुभएको छ ।
हिजो आइतबार राति ९ बजे चौथौं बेस क्याम्पबाट आफ्नो लक्ष्य सगरमाथाको शिखरतर्फ लम्किनुभएको राजु लामाले, आज सोमबार बिहान ४ बजे बुद्ध जयन्तीको अवसर पारेर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको उहाँको व्याण्डमेट बबि लामाले बताउनुभयो। चौथौं बेस क्याम्प (South Col) 26,000 feet (7925 m) मा अवस्थित छ।
अहिले जलवायु परिवर्तनको असर नेपालमा मात्र नभई संसारभरी नै एकदम जटिल बन्दै गएको छ । यसै सन्दर्भमा उहाँले जलवायु परिवर्तको सन्देश दिदै 'हिमालले डाक्यो मलाई पहाडले डाक्यो मलाई, त्यसैले त फर्के नेपालमा' बोलको गीत गाएर सगरमाथाको ६५७४मि माथि एकल कन्सर्ट गरी विश्व किर्तीमानी पनि राख्नुभयो । त्यति उचाईमा सांगीतिक कार्यक्रम गर्न सहज नभएपनि जलवायु परिवर्तनमा हामीले व्यक्तिगत रुपमा के कसरी सहयोग पुर्याउन सकिन्छ तथा कार्बन उत्सर्जन घटाउन कसरी सहयोग पुर्याउन सकिन्छ भनेर सन्देश दिन यो निर्णय लिएको उहाँले बताउनुभयो ।
दुई घण्टा ४५ मिनेटको बसाईपछि उहाँ अहिले फर्किदै हुनुहुन्छ । अहिलेसम्मको रेकर्डमा ६४७०मि माथि सांगीतिक प्रस्तुति दिएको अभिलेखमा छ ।