काठमाडौं, जेठ २। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपालले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ भने युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा भएको उक्त सिरिज यही जेठ ७ गतेसम्म चल्नेछ । नेपाल र युगान्डाबीचको दोस्रो खेल जेठ ३ गते हुनेछ भने तेस्रो खेल जेठ ५ गते हुनेछ । त्यसैगरी चौथो खेल जेठ ६ तथा अन्तिम खेल जेठ ७ गते हुनेछ ।
युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो
घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् । त्यसैगरी केभिन अविनोले १५ रन बनाइन भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन् ।
बलिङमा नेपालका कविता कुँवरले २ विकेट लिईन भने कप्तान रुबीना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक/एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।