Kath khabar
मतगणना भइरहँदा चर्चामा यस्ता प्रसङ्ग : रूपन्देहीमा पनि "बालेनलाई मत, तमसुक गरेर बाजी राखेपछि आपत्"

 

     काठमाडौं, जेठ ३।  वास्तवमा कुनै मतपत्रमा लौरो चिह्नमा स्वस्तिक छाप लागेको देखिए गणकहरूले त्यसलाई "बालेन"को सङ्ज्ञा दिने गरेको बताउँछन् नगर प्रवक्ता सुरेन्द्र श्री। तिलोत्तमामा मेयर पदका लागि कुनै पनि उम्मेदवारले लौरो चिह्न लिएका छैनन्। तर पनि लौरोमा छाप लाग्नु रोचक विषय भएको उनले बताए।

"मत गन्ने तनावबीच रमाइलोका लागि त ठिकै हो। तर सामाजिक सञ्जालमार्फत् भएको बालेनको प्रचारप्रसारको प्रभाव देखिन्छ," सुरेन्द्र श्रीले भने।

"विशेषगरी युवापुस्ताहरू देशव्यापी रूपमा लौरो चिह्नमा मेयर उम्मेदवारलाई मत दिन मिल्छ भन्ने भ्रम रहेको देखिन्छ।" उनका अनुसार लौरोमै छाप लगाएका कारण मतहरू बदर भइरहेको उनले बताए। यद्यपि उक्त सङ्ख्या त्यति ठूलो भने छैन।

दल त्यागेर लौरोको भर :
गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य थिए जयराम महत। वि.सं। २०४६ सालदेखि प्रत्यक्ष वा परोक्ष रूपमा आफू नेपाली कांग्रेसमा संलग्न रहेको बताउने उनको नाम यस पटक स्थानीय तह निर्वाचनमा वडाध्यक्षका लागि सिफारिस भएको थियो। तर उनले टिकट पाएनन्। स्थानीय बासिन्दाहरूको सल्लाह र सुझावअनुरूप उनले स्वतन्त्र रूपमा चुनाव लड्ने निर्णय गरे।

"आवश्यक पर्दा घरमा पुगेर सेवा दिनेदेखि आफ्नो मोटरसाइकलमा राखेर अस्पताल पुर्‍याउने काम गरेको थिएँ। चुनावअघि तिनै स्थानीयवासीले मलाई साथ दिए," महतले सुनाए। दलको टिकट बाँड फाँट प्रक्रिया अन्यायपूर्ण महसुस भएकै कारण आफूले पार्टी त्याग गरेको बताए।

"वडावासीकै रायअनुसार वडाध्यक्षमा उठेँ।" निर्वाचन आयोगले उनलाई चुनाव चिह्न छान्न दिएको थियो। थुप्रै वस्तु र जीवका चित्रहरूमध्ये आफूलाई लौरो आकर्षक लागेको र त्यही रोजेको उनी बताउँछन्।
"त्यतिबेला लौरो बालेनको चुनाव चिह्नको रूपमा प्रचारप्रसार सुरु भएको थियो। मलाई चाहिँ त्यो हरेक उमेर समूहले आफ्नोपन महसुस गर्ने वस्तु भएकाले मन पर्‍यो। लौरो अरू चुनाव चिह्नभन्दा केही प्रष्ट देखिन्थ्यो," महतले भने।

उनी १,०२७ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएका छन्। "आम मानिसको मन जित्न पार्टी र परिचित चुनाव चिह्न चाहिँदैन रहेछ। कर्म बोल्दो रहेछ," उनले भने। सामाजिक सञ्जालमा महतजस्तै स्वतन्त्र उम्मेदवार बनेर पनि जित्नेहरूको चर्चा भइरहेको छ।

हेलिकप्टरबाट बीउ छर्ने घोषणा गर्ने उम्मेदवारलाई "परिवारले नै मत दिएन" :
एक उम्मेदवार भने आफ्नो घोषणापत्रका कारण मतदान अगावै समाचारका शीर्षक बनेका थिए। उनी डडेलधुराको भागेश्वर गाउँपालिकामा स्वतन्त्रतर्फ अध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठी हुन्। उनले निकै कम मत प्राप्त गरेका छन्।

ठकुराठीले आफ्नो घोषणापत्रमा गाउँपालिकालाई पाँच वर्षभित्र नगरपालिका घोषणा गर्ने योग्य बनाउने र आफ्ना वडावासीका निम्ति ३६५ दिन नै दशैँ मनाउने वातावरण सिर्जना गर्ने उल्लेख गरेका थिए। त्यस्तै खेतीयोग्य जमिनमा मौसमअनुसार हेलिकप्टरबाट बीउ छर्ने र हेलिकप्टरबाटै सिचाइको व्यवस्था मिलाउने जनाएका थिए। अनि गाईवस्तुलाई समेत अस्पतालमा सुत्केरी गराउने उनको घोषणा थियो।

उनको घोषणापत्रलाई सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा धेरैले हाँसोको विषय बनाइ साझा गरे। उनी स्वयं पनि सर्वसाधारण मानिसलाई हँसाउन सफल भएकोमा गौरवान्वित सुनिन्छन्। उनी भन्छन्,"जित त अब सम्भव छैन। मलाई कसैले मत दिएनन् तर मैले सबैलाई हँसाउन सफल भएँ। म यसैमा खुसी छु।" आफ्नै बुवालगायत परिवारका कसैले पनि मत नदिनुले चाहिँ आफूलाई दुःखी तुल्याएको सुनाए।

"देश, विदेशका ठकुराठीहरूले ५५,००० रुपैयाँ सहयोग रकम पठाए। चुनावमा १०,००० रुपैयाँ मात्र खर्च भयो। यसरी साथ पाउँदा मत पाउँदिनँ भन्ने ठानेकै थिइनँ " उनले भने। केही वर्षअघि नेपाल प्रहरीबाट सेवानिवृत्त ठकुराठी हाल गाउँमै विद्युतीय सामाग्री मर्मत सम्भारको काम गर्छन्। उनले चुनाव हार्नुमा आफ्नै परिवारको साथ नरहनु भएको बताइरहँदा इलाममा केही फरक दृश्य देखियो।

वडाध्यक्ष बन्न एकै परिवारभित्रै प्रतिस्पर्धा :
इलामको रोङ गाउँपालिका वडा नम्बर १ का मनोहरि र मनोज खड्का नाताले दाजुभाइ हुन्। मनोज मनोहरिका काकाका छोरा हुन्। गाउँपालिकाको मतगणना भइरहँदा उनीहरू सँगै थिए। एकसाथ खाना खाएर, एउटै ओच्छ्यानमा बसी प्राप्त मतको हिसाब गर्दै थिए।

परिणामबारे दुवैको बराबर चाख हुनुको एउटै कारण थियो - उनीहरू दुवैको उम्मेदवारी। त्यो पनि फरक दलबाट एउटै पदका निम्ति। भाइ मनोहरि नेपाली कांग्रेसका उम्मेदवार थिए भने दाइ मनोज नेकपा एमालेका। अन्ततः ६१० मतसहित भाइ वडाध्यक्ष निर्वाचित भए।

"दुई जनामा एक जनाले जित्ने र अर्कोले हार्ने निश्चित थियो। त्यसैले परिणाम आउँदा चकित भएनौँ। मेरो जितमा दाजु पनि खुसी हुनुभयो, बधाई दिनुभयो"  मनोहरिले सँग भने। पहिला आफ्नो उम्मेदवारी घोषणा भएकाले आफूलाई केही फाइदा भएको मनोहरिको बुझाइ छ। "पारिवारिक हिसाबमा गृहकार्य त गर्‍यौँ नै तर पार्टीले नै हामीलाई रोजेपछि नकार्नुपर्ने कारण नै थिएन।"

उम्मेदवारी घोषणादेखि मत परिणाम आउँदासम्म आफूहरूको सम्बन्ध सौहार्दपूर्ण रहेको खड्काले बताए। "हामीले एकअर्काको कुरा नकाटी सधैँ आफ्नो उद्देश्यलाई अघि सार्‍यौँ " उनले भने। उनीहरूबीच १२२ मतान्तर रह्यो। केही स्थानमा भने उम्मेदवारहरूबीच एक मतन्तरका कारण हार जित भइरहेको छ।

"जम्मा एक मतले जित्छु भन्ने लागेकै थिएन" :
आइतवार राति काभ्रे खानीखोला गाउँपालिका वडा नं १ को मतगणना जारी थियो। दुईवटा मत गन्न बाँकी रहँदाको स्थितिमा माओवादी केन्द्रका उम्मेदवार र नेकपा एमालेका उम्मेदवार दुवैको प्राप्त मत ५४७ पुगेको थियो।
"डेढ सयदेखि २०० मत बढी ल्याएर जित्छु भन्ने थियो। तर अन्तिममा जित्ने आशा नै बाँकी रहेछ। रातको १ बज्न लागेपछि अन्तिम परिणाम सार्वजनिक भयो। एक मतले मलाई जितायो" माओवादी केन्द्रका उम्मेदवार सन्तमान थिङले सुनाए। उनी वडाध्यक्ष निर्वाचित भएका छन्।

तर आफूले "जम्मा एक मतले जित्छु भन्ने कल्पना समेत नगरेको" उनले सुनाए। जित घोषणा भए लगत्तै उनी निकट मानिसहरूले विजयको नारा लगाएको बताए। "धाँधली भएको आरोप लाग्न सक्थ्यो तर निर्वाचन आयोगबाट खटेका कर्मचारीले आधिकारिक जानकारी दिएकाले त्यस्तो परिस्थिति आएन"  थिङले भने।

केही उम्मेदवारहरूले भने एक मत मात्र प्राप्त गरेको विवरण सार्वजनिक भएका छन्। मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार ज्याम्याङ गुरुङलाई आफ्नो मात्र मत प्राप्त भएको विवरण आएको छ।

बाजीमा २८ किलोको खसी :
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका दुई युवाले काठमाण्डू महानगरपालिकाको मतपरिणामलाई लिएर बाजी राखेको सार्वजनिक भएको छ। उनीहरूले बालेन्द्र शाह (बालेन) ले जित्ने कि हार्ने भन्ने विषयमा २८ किलोको खसी बाजी राखेका हुन्। उनीहरूले तीनजना साक्षी राखेर गरेको तमसुक सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। त्यसबारे प्रहरीले सोधखोज पनि गरेको छ।
मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बीबीसीसँग भनेका थिए,"यस्तो विषयमा बाजी राख्नु गैरकानुनी हो। त्यसो भएको खण्डमा सम्बन्धित निकायले कारबाही गर्ला।" सामाजिक सञ्जालमा चर्चा भएपछि सोही नगरपालिकाको वडा नं १ बाट उनीहरूलाई पक्राउ गरिएको खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।

"कानुनले निषेध गरेको सट्टेबाजीमा सहभागी भएको पायौँ। तत्काललाई बाजी राख्ने मुख्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै छौँ" उनले भने। सार्वजनिक कागजको सत्यता पुष्टि भएपछि कानुनबमोजिम कारबाही हुने बताइएको छ।
मतगणना जारी रहँदा अन्य विभिन्न रोचक प्रसङ्गहरू सामाजिक सञ्जालमा छाएका छन्। कलाकारहरू विभिन्न पदमा निर्वाचित हुनुदेखि ठूला भनिने राजनीतिक दलका मुख्य नेताहरूको स्थानीय तहमा अन्य दलको जित सर्वसाधारण मानिसका लागि चाखलाग्दो विषय बनेको पाइन्छ।

गोलाप्रथाबाट विजेता :
विभिन्न पालिकाका केही वडामा निर्वाचनको छिनोफानो मतबाट हुन नसकेपछि गोलाप्रथाबाट भएको छ।
रोल्पा नगरपालिका वडा नम्बर २ मा देउचन घर्तीमगर र प्रकाश डाँगीको बराबर मत आएपछि गोलाप्रथाद्वारा डाँगी विजेता घोषित

  • मनाङको चामे गाउँपालिकाको वडा नम्बर ५ मा अध्यक्ष र खुला सदस्यमा बराबर मत आएपछि गोलाप्रथाबाट विजेता घोषित
  • सल्यानको शारदा नगरपालिको वडा नम्बर ३ मा समेत वडा सदस्यमा मधुदास श्रेष्ठ गोलाप्रथाबाट विजेता घोषित
  • सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर २ मा वडाध्यक्षमा छविलाल न्यौपानेको गोलाप्रथाबाट विजेता घोषित

स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार सदर मत बराबर भएको हकमा बराबर मत पाउने उम्मेदवारमध्येबाट निर्वाचन अधिकृतले गोला हालेर निर्णय लिनुपर्ने व्यवस्था छ।

"कुनै सदस्यको निर्वाचनमा मतदान भएको सबै मतपत्रको मतगणना कार्य समाप्त भएपछि दुई वा दुईभन्दा बढी उम्मेदवारले प्राप्त गरेको सदर मत बराबर भई निर्वाचित उम्मेदवार छुट्टाउन नसकिने भएमा निर्वाचन अधिकृतले त्यसरी बराबर मत पाउने उम्मेदवारहरूका बीच गोला हाली निर्णय गर्नुपर्ने छ," निर्देशिकामा भनिएको छ।

बीबीसी

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update