जापान, जेठ ६ । जापानमा आयोजना हुने टोकियो ओलम्पिक आगामी जुलाइको २३ देखि अगष्ट ८ सम्म हुनेछ । यता पारा ओलम्पिक पनि २४ अगष्ट देखि ५ सेम्टेम्बरमा हुनेछ । तेक्वान्दो ओलम्पिक अन्तर्गत एसियाली छनौट यही सप्तान्तमा (शुक्रबार र शनिबार) जोर्डनको अम्मान शहरमा हुनेछ । तर नेपालमा जारी लकडाउन चलिरहेको छ । अन्तराष्ट्रिय उडान बन्द छन् । जसका कारण खेलाडीहरु सहभागिताबाट बञ्चित भएका छन् ।
छनौटका लागि नेपाल तेक्वान्दो संघले पारा खेलाडी सहित ६ जना छनौट गरेको थियो । १३ औं सागमा स्वर्ण जितेका विर बहादुर महरा र भुपेन श्रेष्ठ तथा रजत बिजेता निमा गुरुङ तयारीमा जुट्नु भएको थियो । विर ओलम्पिक छात्रवृत्ती पाउनु भएका खेलाडी हुनुहुन्छ । उहाँको नाम वाइल्ड कार्डको सिफारिसमा समेत परेको छ । भुपेन ८० केजी तौलसमुह अन्तर्गत तयारी गरिरहनु भएको थियो । एसियाली तेक्वान्दो खेलाडीको वरियतामा उहाँ तेस्रो स्थानमा पर्नु हुन्छ । २०१६ मा भएको रियो ओलम्पिकको छनौट समेत खेल्नु भएका निमा उत्कृष्ट लयमा हुनुहुन्छ । यता पारा तेक्वान्दोका पलेसा गोर्बद्धन, विशाल गुर्बुजा र सिर्जना घिसिङले प्रशिक्षक कबिराज नेगी लामासँग प्रशिक्षण लिइरहेका थिए । पलेसा विश्व वरियताको १३ स्थानमा हुुनुहुन्छ । अब छनौट नै खेल्न नपाएपछि खेलाडीहरु निराश हुनु परेको छ । “हामीले तयारी राम्रो गरेको थियौँ , एसियाली छनौट पार गर्छु भन्ने थियो तर अन्तिममा आएर छनौट नै खेल्न पाएनौँ । छनौट पार नभएपनि हामीले उत्कृष्ट गरेको खण्डमा अंक जोडिने थियो । वरियता सघाउ हुनेथियो । मुख्य टुर्नामेण्ट नै छुट्यो । विरले भन्नुभयो “ एउटा खेलाडीको लागि ओलम्पिक खेल भनेको जिवनकै ठुलो सपना हो त्यो मौका छुट्दा कस्तो भयो होला । ”
कसरी छुट्यो त एसियाली छनौट
नेपालमा प्रतिदिन ८ हजार भन्दा बढि संक्रमण र १०० भन्दा बढिको मृत्यु भएपछि नेपालमा अहिले स्वास्थ्य आपतकालको अवस्था छ । जोर्डनले नेपाल र भारतलाई कोरोनाको उच्च जोखिम भएको देशको सुचिमा राखेको छ । त्यसैले नेपालबाट जोर्डन प्रस्थान गर्न त्यहाँको सरकारले तेस्रो मुलुकमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने नियम लागु गरेको छ । “हामीलाई जोडर्नको नियमले गाह्रो बनायो । नेपालको अवस्था यस्तो छ । चाटर्ड गर्ने सुविधा हामीसँग छैन । ” नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले बताउनु भयो । यस अघि नेपाली टिमलाई निशुल्क प्रशिक्षण गराइरहेका कोरियाली प्रशिक्षक क्वान यान दलले खेलाडीलाई लिएर वैशाखको सुरुवातमा किर्गीस्तान जाने र त्यहाँ गएर केही समय अघि अभ्यास गर्ने बताउनुभएको थियो । र त्यसपछि जोर्डनसँग प्रतिस्पर्धा गने प्रस्ताव उहाँले संघमा राख्नु भएको थियो । तर संघले समयमा नै नसोच्दा पनि यस्तो भएको हो । “
हामीसँग बजेटको अभाव थियो । त्यती बेला यस्तो अवस्था आउँछ भन्ने सोचेका थिएनौँ हामीले अन्तराष्ट्रिय तेक्वान्दो महासंघ र नेपाल ओलम्पिक कमिटी मार्फत अन्तराष्ट्रिय ओलम्पिक कमिटीमा पत्राचार गरेका छौं । कोरोना र जोर्डनको नियमले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भनेपछि केही सहज हुन्छ कि भन्ने आशा छ ।” अध्यक्ष राणाले भन्नुभयो ।
वाइल्ड कार्ड नै अन्तिम विकल्प
“एसियाली छनौट खेलेको भए हाम्रो खेलाडीको अंक बढ्थ्यो । वरियतामा सुधार हुनसक्थ्यो । वाइल्ड कार्डको कोटामा पनि अटाउ सहज हुन्थ्यो । अब त एकदमै कम चान्सेस छ वाइल्ड कार्ड पनि । हाम्रो पहल भइरहेको छ । हेरौँ के हुन्छ ” ओलम्पियन दिपक विष्टले बताउनु भयो । नेपालबाट छनौट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी नेपालबाट संगीना वैद्य र दिपक मात्र हुनुहुन्छ । संघले पारा तेक्वान्दोका सिर्जना धामी र पलेसालाई पनि वाइल्ड कार्डको सिफारिसमा राखेको छ । तर २०१९ मा भएको १३ औँ दक्षिण एसियाली खेलकुद साग पछि वरियतामा प्रभाव पार्ने कुनै टुर्नामेण्ट नखेलेको नेपालले वाइल्डको कोटा पनि मुस्किल छ । “खेलाडीका लागि यो मुस्किलको घडी हो । सपना नजिक पुगेर फर्कन गाह्रो हुन्छ । हामीले पहल गरिहरका छौँ । वाइल्ड नै एउटा भरोसा बाँकी छ । ”