काठमाडौं, जेठ ४ । अभिनेता, निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्नुहुने भएको छ । ‘ह्याप्पी डेज’,‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलीखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले छ जना नेपाली साथीहरुका साथ आगामी शुक्रबार अर्थात् २० मे मा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्न लाग्नुभएको हो ।
साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ रहनुभएको छ । उहाँहरुले शुक्रबार लण्डनको लण्डन ब्रिजबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइक्लिङ गर्दै २२ मे मा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिनुभएको छ । ‘हामीहरूको म्यानुअल साइकल (पाइडल घुमाउँदै) मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान छ,’ अभिनेता जोशी भन्नुहुन्छ । ‘साइकलमा यति लामो दूरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुदैछ ।’ उहाँले यो यात्राका लागि तीन साता अघिदेखि मात्रै तयारी गर्नुभएको हो ।
उहाँका साथीहरूले भन्नुभयो 'यो यात्राबारे चार वर्षअघिदेखि योजना बनाएका रहेछन् । उहाँहरूले पहिलादेखिनै प्लान बनाएको भए तापनि अहिले आएर बल्ल साकार हुन लागेको छ,’ अभिनेता जोशीले भन्नुभयो, ‘यात्राका लागि म करिब तीन साता यता दैनिक चार पाँच घण्टा साइकल कुदाइ रहेको छु ।’ लामो समयदेखि नियमित एक्सरसाइज गर्दै आइ रहेकाले छोटो समयको तयारीले पनि आफूलाई पूर्ण सफलता दिने विश्वास उहाँको विश्वास रहेको छ ।
साइकल यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्रीहरू स्वयम्ले नै ब्यहोर्ने टिमको निर्णय छ । लण्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुन्द्रमा भने उहाँहरु पानी जहाजमा यात्रा गर्नेछन् ।
उलबीच आर्सनल राइडर्स क्लब (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरूले कम्तीमा पाँच हजार पाउन्ड करिब पौने ८ लाख रु) संकलन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । उहाँले यो अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब तीन हजार पाउण्ड सहयोग गरिसकेको बताउदै जोकोहीले पनि जस्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिनुभएको छ । अनाथ बालबालिकाका लागि बिश्वभरबाट माया, साथ,सहयोग र हौसला दिनुहुन उहाँले सबैलाई अनुरोध गर्नुभएको छ ।