
काठमाडौं, जेठ ५। कृषि तथा पशुपंछी विकास मन्त्री महेन्द्र राय यादवले सूचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने उद्घोष गर्नु भएको छ । उक्त कुरा मन्त्री यादवले जो राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेसन फाउण्डेशनको १२ औं दिक्षान्त समारोहमा बताउनु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथीकोरुपमा बोल्दै मन्त्री यादवले दीक्षित विद्यार्थीहरूलाई नेपाल मै बसेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरेर नेपाललाई कृषिमा आयातमुखी मुलुकबाट परिवर्तन गरी निर्यातमुखी मुलुकमा परिणत गर्न आव्हान गर्नुभयो । उहाँले नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको लागि लर्ड बुद्धको एपीयुसँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको बताउनु भयो ।
मुलुककै पहिलो आईटी कलेजको रुपमा स्थापित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले आफ्नो स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग आवद्ध भई नेपाल मै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि र व्यापार व्यवस्थापन जस्ता अत्याधुनिक विषयहरूको पठनपाठन गर्दै आइरहेको र संस्थाले नयाँ किसिमको रोजगारमुखी कार्यक्रमहरूको अवधारणालाई विशेष महत्वकासाथ अवलम्बन गरेकोमा गर्व लागेको कुरा कार्यक्रमको अध्यक्षता गरिरहेका कलेजका अध्यक्ष पंकज जालानले भन्नु भयो ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एशिया प्यासिफिक युनिभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा मै अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर स्तरको अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउँदैँ आएको छ । १५० जना विद्यार्थी दीक्षित भएको यस कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले स्वागत मन्तव्य दिनु भएको थियो ।