काठमाडौं, जेठ ८। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । जैविक विविधता भन्नाले यस पृथ्वीमा रहेका सम्पुर्ण प्राणी, वनस्पति, सुक्ष्मजीव र तिनीहरूका बीचमा रहेका विविधतालाई जनाउँछ । यसै गरी जीवजन्तुका वासस्थानमा हुने पुर्यावरणीय फरकलाई पनि जैविक विविधता भन्ने बुझिन्छ ।
आजभन्दा २१ वर्षअघि संयुक्त राष्ट्रसंघिय साधारण सभाले हरेक वर्षको मे २२ लाई अन्तराष्ट्रिय जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । यो दिवसको उद्देश्य जैविक विविधताका चुनौतीहरूको बुझाइ, सचेतना र सकारात्मक उपायहरूलाई अनुकूलन गर्नु हो। जब जैविक विविधता संकटमा पर्दछ, मानवता पनि संकटमा पर्दछ । यसको विनाशले मानव स्वास्थ्य लगायत सबैको अस्तित्व धरापमा परिरहेको छ । यही कुरा स्मरण गराउँदै जैविक विविधता संरक्षणमा विश्व समुदायलाई एकतावद्ध पार्न विश्वभरि जैविक विविधता दिवस मनाइने गरिएको हो ।
जैविक विविधता किन महत्वपूर्ण छ ?
जैविक विविधता हाम्रो जीवनको र अस्तित्वको आधार हो । जैविक विविधताको कारणले नै यो पृथ्वी ग्रह बस्न योग्य ग्रह भएको हो । जैविक विविधता हामीले प्रकृतिबाट प्राप्त गर्ने विभिन्न वस्तु र सेवाहरुको श्रोत हो । हामीले उपयोग गर्नेे अन्न, तरकारी, कन्दमुल, फलफुल, औषधी, माछामासु, दुध आदि उपभोग्य वस्तु सबै जैविक विविधताबाट प्राप्त गर्दछौ । वातावरण सन्तुलित राख्न तथा पानीको प्राकृतिक शुद्धिकरणमा पनि जैविक विविधताको ठुलो भूमिका हुन्छ ।
जलचक्रलाई सन्तुलित गर्न र जमिनमुनि पानी संचित गरी पानीका मुहान र मुलहरुबाट पानीको बहावको सुनिश्चितता गर्न पनि जैविक विविधताको ठुलो भूमिका हुन्छ ।
जलवायु परिवर्तन र जैविक विविधताको विनाश हाम्रो पुस्ताको सबैभन्दा ठुला र जल्दोबल्दो वातावरणिय समस्याहरु हुन् । यी दुई समस्याहरुले सामान्य असर मात्र पर्ने नभई यस धर्तीमा मानव जातिका अस्तित्वसमेत जोखिममा पार्न सक्ने भएको हुनाले यी समस्याहरु विश्वव्यापी बहस र सरोकारका विषयहरु बनेका छन् । पृथ्वीको लगभग साढे ४ अर्ब वर्षको लामो इतिहासमा जलवायु परिवर्तन र जैविक विविधताको विनाश र प्रजातिहरू लोप प्राकृतिक रुपमा नै भएका वैज्ञानिक तथ्यहरु छन् । तर, अहिले देखिएका समस्याहरु मानव सिर्जित हुन् । हाम्रा क्रियाकलापहरु नै मूल रुपमा जिम्मेवार छन् भन्ने कुरामा अब दुईमत छैन ।
जब जैविक विविधतामा समस्या हुन्छ, तब मानवतामा समस्या छ भनेर बुझिन्छ । जैविक विविधतालाई प्रायः वनस्पति, जनावर र सूक्ष्मजीवहरूको विस्तृत विविधताको सन्दर्भमा मात्र बुझिन्छ, तर यसले प्रत्येक प्रजाति भित्र आनुवंशिक भिन्नताहरू पनि समावेश गर्दछ।
जलवायु परिवर्तन र जैविक विविधताको विनाश हाम्रो पुस्ताको सबैभन्दा ठुला र जल्दोबल्दो वातावरणिय समस्याहरु हुन्। यी दुई समस्याहरुले सामान्य असर मात्र पर्ने नभई यस धर्तीमा मानव जातिको अस्तित्वसमेत जोखिममा पार्न सक्ने भएको हुनाले यी समस्याहरु विश्वव्यापी बहस र सरोकारका विषयहरु बनेका छन्। पृथ्वीको लगभग साढे ४ अर्ब वर्षको लामो इतिहासमा जलवायु परिवर्तन र जैविक विविधताको विनाश र प्रजातिहरू लोप प्राकृतिक रुपमा नै भएका वैज्ञानिक तथ्यहरु छन्।
नेपालको संविधान २०७२ ले प्राकृतिक श्रोत र जैविक विविधता संरक्षण सम्बन्धमा केन्द्र, प्रदेश र स्थानीय सरकारका अधिकार र भूमिकाहरुको संवैधानिक रुपमा नै व्यवस्था गरेको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारका एकल तथा साझा अधिकारहरुलाई संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा सुचिकृत गरिएको छ । जस अनुसार राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति, कार्वन सेवा, भूउपयोग नीति संघिय सरकारको क्षेत्र भित्र पर्दछन्। वातावरण र जैविक विविधता संरक्षणलाई केन्द्र तथा प्रदेश सरकारको साझा क्षेत्रको रुपमा उल्लेख गरिएको छ ।
प्रदेशभित्र पर्ने राष्ट्रिय वन प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने कुरा उल्लेख गरिएको छ । वातावरण संरक्षण, जैविक विविधता, जलाधार र वन्यजन्तु संरक्षणलाई स्थानीय सरकारको अधिकार क्षेत्र भनी उल्लेख गरिएको छ । त्यसैगरी वन,जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधतालाई संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार भनी सुचिकृत गरिएको छ । यसरी जैविक विविधता संरक्षणलाई संविधानले नै उच्च महत्व दिएको छ ।