काठमाडौं, जेठ ९। प्लाष्ट नेपाल फाउण्डेशनले यहि आगामी जेठ महिनाको १२ देखि १४ गतेसम्म अर्थात मे महिनाको २६, २७ र २८ तारिखका दिन काठमाडौंको भृकुटी मण्डपमा 'प्लाष्ट नेपाल २०२२' नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ । फाउण्डेसनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको संस्थाले जानकारी दिएको छ ।
अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लास्टिक उद्यमी व्यवसायीहरू र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरू, यसका कच्चा पदार्थहरू र मेसिन उपकरणहरू समेतका विभिन्न १२६ वटा स्टलहरू राखिने छन् ।
प्लाष्ट नेपाल फाउण्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ। प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरूको छाता संगठन हो, र हामीले नेपालमा प्लाष्टिकको दिगो वृद्धिको लागि निरन्तर काम गरिरहेका छौँ । नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर संस्थाले सरकार र उद्योगीहरूसँग मिलेर काम गरिरहेको छ ।
नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरूलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलब्ध गराउन यस मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको संस्थाले जानकारी दिएको छ ।