
काठमाडौं, जेठ ९। ठकुरीहरू खस, मगरहरू र केही सम्भावित भारतीय राजपूत आप्रवासीहरूको विकृतिबाट विकसित एक उच्च सामाजिक राजनीतिक समूह भएको मानिन्छ । नेपालको ऐतिहासिक कालदेखि नै विभिन्न समय र परिस्थितिमा महत्त्वपुर्ण भुमिका निर्वाह गर्दै आएको यस जातिको इतिहासमा विषेश छुट्टै प्रकारले विश्लेषण गरिन्छ। ठकुरी एउटा प्रकृति पूजक जनजाति वा जाति समुह हो ।
नेपालमा वैदिक आर्यन, खश र मंगोलमुलका गरी तीन किसिमका ठकुरीहरू भेटिन्छन् । यिनका आ-आफ्नै मान्यता, भाषा, रहनसहन छ । शारीरिक बनावट पनि फरक-फरक देखिन्छन् । तीन किसिमका ठकुरी अन्तर्गत पर्ने नेपाली ठकुरीका थरहरू निम्न अनुसार छन् । शाह, शाही, पाल, बम, चन्द, सिंह, मल्ल, सेन, राठौर, हमाल, समाल, आदि । अरु पनि धेरै थर भएका ठकुरीहरू रहेको पाइएको छ ।
वैदिक आर्यन ठकुरीको इतिहास र पहिचानसँग खश ठकुरीको इतिहास र पहिचान मिल्दैन । मङ्गोल ठकुरीको इतिहास र पहिचानसँग अन्यको मिल्दैन । यस कारण यस विषयमा विविधता छ ।
नेपालका सयौं इतिहासविद् र समाजशास्त्रीहरुले गण्डक क्षेत्रका मगर जनजातिबाट ठकुरी बनेका विश्लेषण गर्छन्, उहाँहरूको अध्ययन अनुसार ठकुरी भनेको छुटाटुटै वंश भएको एउटा समुदाय हो । फ्रेञ्च लेखक ह्यामिल्टन वुचाननले शाहवंश र शाहहरूको वरपर रहेका ठकुरी समुदायको आदिवासी श्रोत मगर भएको उल्लेख गर्नुभएको छ । ह्यामिल्टनको नेपाल वर्णनमा ठकुरी समुदाय र मगर समुदायबीचको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो । उहाँले आफ्नो भ्रमणमा जातीय हिसाबले ठकुरी र मगर एउटै भएको तर धार्मिक हिसाबले मगरहरू हिन्दुधर्म प्रति उदार हुँदै गएकोले धार्मिक हिसाबले यि दुईजात विस्तारै छुटिँदै गएको निष्कर्ष निकाल्नुभएको थियो ।
ठकुरीको ऐतिहासिक अर्थ
ठकुरी (ठकुरी) शब्द शासक कुलसँग सम्बन्धित छ। कोही भन्छन् ठकुरीहरू भारतको राजपूतबाट उत्पन्न भएका हुन्। उनीहरू मुस्लिम छलीबाट बच्न नेपाल प्रवेश गरेका थिए । कतिपय भन्छन्, नेपालमा विभिन्न कालखण्डमा सबै शासक वर्गलाई ‘ठकुरी’ मानिन्थ्यो। कसै-कसैले काठमाडौं उपत्यकाका नेवार मल्ल राजाहरू (१२००-१७६८) "ठाकुरी कुल" भएको दाबी गर्छन् किनभने उनीहरूलाई "ठाकु जुजु दय" अर्थात् "ठाकुर राजा देव" भनिन्छ। अहिलेको मधेशी समुदायमा कतिपयले ठकुरीलाई ‘ठाकुर जन’सँग जोड्छन्।
१२ औं शताब्दीमा पहिलो मल्ल राजा अरि-मल्ल (वा अरि देव) ले आफ्नै वंश सुरु गर्दा मध्य नेपालमा ठकुरी वंशको शासन समाप्त भयो। तर पश्चिम नेपालमा शक्तिशाली खस साम्राज्य र केही नवगठित बैसे/चौबिसे राज्यहरू ठकुरी राजाहरूले शासन गरिरहेका थिए। पछि गोरखा (एउटा चौबिसे राज्य) का राजा पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरी १७६८-२००८ सम्म शासन गर्ने शाहवंशको स्थापना गरे।
ठकुरीको पृथक एवम् महत्वपूर्ण पहिचान दर्शन
ठकुरीहरूको एउटा मात्र अत्यन्त सजिलो चिनिने मुख्य आधार भनेको आपसमा भेट हुँदा उमेर साइनोमा सानाले ठुलालाई आधार गर्ने नाता दर्शन हो । दर्शन के कसरी स्थापित भयो यसको खासै इतिहास छैन तर परम्परागत रुपले ठकुरी जातिहरुले आफ्नो पहिचानको रुपमा संरक्षण गरेर राखेको यो मुख्य पहिचान हो भनेर ठकुरीहरू सम्झछन् । दर्शनले ठकुरीको पहिचान वोध गर्दछ । यो दाहिने हातले निधार छोएर देब्रे हातले कुहिनोलाई समाती धनुष्ठङकार हुनेगरी निहुरेर गरिन्छ । यो असाध्यै प्रतिष्ठा र सम्मानका साथ सानाले ठुलालाई गरिने सम्बोधन हो ।

वैवाहिक चलन
ठकुरीहरूको चालचलन ठाँउ अनुसार फरक फरक पाइन्छन् । मुलतः आफ्नै ठकुरी थर भित्रका फरक फरक थर र गोत्र मिलाई मागी वा प्रेम विवाह गरिन्छ र यस्तो विवाहले पूर्ण सामाजिक मान्यता पनि पाउँछ । गण्डक क्षेत्रका ठकुरीहरूले मामाको छोरी विवाह गर्ने चलन छ, जसलाई फुपू चेलो मामा चेलो चल्ती भनिन्छ । सुदुरपश्चिम बाहेक नेपालको सबै गाउँ र वस्तीहरुमा यो चलनलाई महत्वपूर्ण नै मानिन्छ । नेपाल अधिराज्य भरिको ठकुरीको विवाहमा शाही पिच्छा लगाउने, शाही पाटाको सामान लैजाने गर्छन् । ठकुरीहरूले विवाहमा दुलहीको घर जाँदा दुलाहाको घरबाट शाहीपाटा लिएर जाने चलन छ । शाहीपाटाको सामान फर्कायो भने अशुभ ठानिन्छ र फर्काइदैन ।
ठकुरीको भाषा
ठकुरीहरुको व्यवहारिक भाषा आइबक्स्योस्, ज्युनार गरीबक्स्योस्, राज गरीबक्स्योस् आदी हुन् । राणा र दरवारले प्रयोग गर्ने यो भाषा आजभोली सबै जातजातिले बोल्ने गर्दछन् । ठकुरीहरुको पुरानो पारिवारिक नाता ठाँउ अनुसार फरक फरक भए पनि प्रायः जिवा, जिमा, वुवा, मुवा, दाजी, आजी र आफूभन्दा सानाहरूलाई बावु र मुइया भनेर बोलाउने गर्दछन् । यसले ठकुरीको पहिचानलाई संकेत गर्दछ ।
अधिकांश ठकुरीहरुले आफ्नो जनजाति पहिचान खोजेका छैनन् । यस्तो हुनु भनेको पहिचान र संस्कृतिविहिन बन्दै जानु हो । ठकुरीहरूको फरक फरक शारिरिक बनावट र फरक फरक रहनसहन भएकोले सबै ठकुरीहरू समान देखिदैनन् । अहिले बोल्ने र लेख्ने गरेको भाषा खस नेपाली भाषा हो । आदिकालदेखि राष्ट्रियताको पक्षमा अमर वीर मुलवासीको रुपमा परिचित भएको यो समुहले आफ्नो पहिचान भावी कर्णधारलाई सुझाउनु आवश्यक देखिन्छ ।