
काठमाडौं, जेठ ११। नेप्सेमा पुरै हरियाली छाएको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से आज बुधबार पुन: १४ दशमलव ३७ अंकले बढेर २२ सय ३१ दशमलव ५७ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ४२ अंकले बढेर चार सय ३५ दशमलव शून्य नौं अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरुको २२ हजार ३१ पटकको कारोबारमा २६ लाख ९४ हजार चार सय २९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब चार करोड ४६ लाख २६ लाख नौं सय ३९ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बलेफी हाइड्रो पावर कम्पनी, एसियन लाइफ इन्स्युरेन्स कम्पनी, बलेफी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपर तामाकोसी हाइड्रो पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।