Kath khabar
काठमाडौं महानगरको मेयरमा बालेन्द्र साह निर्वाचित


           काठमाडौं, जेठ १३। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । साहले ६१७६६ मत प्राप्त गरी मेयरमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै साह मेयरमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८३४१ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका केशव स्थापितले ३८११५ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दै सुनिता डंगोल निर्वाचित हुनुभयो । डंगोलले ६८६१२ मत ल्याउनुभएको छ भने रामेश्वर श्रेष्ठले २३८०६ मत प्राप्त गर्नुभयो ।

कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख-उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् ।

कामपाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने १२  वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी हुनुभएको छ । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोल विजय हात पार्नुभएको छ । उहाँ कामपाको पूर्व नगर प्रवक्तासमेत हुनुहुन्थ्यो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले प्रमुख-उपप्रमुखसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । उक्त निर्वाचनका लागि कामपामा मात्रै १५६ स्थल र ३६३ केन्द्र तोकिएको थियो । यहाँ तीन लाख २४२ मतदाता रहेको भने पनि करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update